सीईओ पक्राउ प्रकरणले बैंकिङ क्षेत्र तरंगित, ‘सुन अनि थुन’ सिद्धान्त उल्लंघन भएको भन्दै गम्भीर आपत्ति

३१ बैशाख २०८३, बिहीबार १८:३०

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेपालको बैंकिङ क्षेत्र तरंगित बनेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख ३० गते पाण्डेलाई नियन्त्रणमा लिएपछि यस घटनाप्रति नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुलीका लागि विशेष अधिकार दिएको उल्लेख गर्दै सोही कानुनी व्यवस्थाअनुसार कर्जा असुली प्रक्रिया अघि बढाउनु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्र पर्ने बताइएको छ । नियमित तथा कानुनी कर्जा असुली प्रक्रियालाई आधार बनाएर बैंक नेतृत्वलाई पक्राउ गरिनुले समग्र वित्तीय क्षेत्रको स्थायित्व र सर्वसाधारणको विश्वासमा गम्भीर असर पार्न सक्ने चेतावनी संघहरूले दिएका छन् ।

संघहरूले बैंक तथा वित्तीय संस्थाहरू आम सर्वसाधारणको निक्षेप परिचालन गर्दै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै यस्ता घटनाले संस्थागत साखमा नकारात्मक प्रभाव पर्ने बताएका छन् ।

विज्ञप्तिमा ‘पहिले सुन अनि थुन’ भन्ने न्यायिक सिद्धान्त विपरीत सीधै हिरासतमा लिइनुले सीईओ जस्तो जिम्मेवार पदको गरिमा र मर्यादामा आँच पुगेको उल्लेख गरिएको छ । अनुसन्धान आवश्यक भए पनि पाण्डेलाई थुनाबाहिर राखेर कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग बैंकर्स संघहरूले आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*