बीमापोष्टको छैठौं वार्षिकोत्सव सम्पन्न, बीमा तथा वित्तीय पत्रकारितामा थप जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता

३१ बैशाख २०८३, बिहीबार १७:५५

काठमाडौं । ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ शुरु गरिएको बीमापोष्ट डटकमले आफ्नो छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित बीमापोष्टले काठमाडौंको पुतलीसडकस्थित न्यूप्लाजामा विशेष कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा बीमा क्षेत्रका नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले बीमापोष्टले छोटो अवधिमै बीमा तथा वित्तीय पत्रकारितामा फरक पहिचान बनाउन सफल भएको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमापोष्टका सम्पादक नवराज न्यौपानेले पछिल्ला वर्षहरूमा बीमा तथा वित्तीय क्षेत्रका सूचना र समाचारलाई व्यवस्थित ढंगले आमपाठकमाझ पु-याउन बीमापोष्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पाँच वर्षको यात्रामा संस्थाले विश्वसनीयता र पाठकको भरोसा हासिल गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार, अनुसन्धानमुखी र प्रभावकारी पत्रकारितालाई प्राथमिकतामा राखिने स्पष्ट पारे ।

सम्पादक न्यौपानेले संस्थाको यात्रामा साथ, सहयोग र विश्वास गर्ने पाठक, विज्ञापनदाता, स्रोत व्यक्ति तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरे । उनले पत्रकारिताको बदलिँदो परिवेशमा तथ्यपरक र विश्वसनीय सामग्रीमार्फत पाठकको भरोसा कायम राख्नु नै संस्थाको प्रमुख दायित्व भएको बताए ।

कार्यक्रममा बीमापोष्टमा कार्यरत कर्मचारी तथा उपस्थित अतिथिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले बीमापोष्टले आगामी दिनमा बीमा, बैंकिङ तथा वित्तीय क्षेत्रका समाचारलाई अझ गहिराइका साथ प्रस्तुत गर्दै आफ्नो प्रभाव र पहिचान विस्तार गर्ने विश्वास व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*