क्यान्टोनमेन्ट घोटाला काण्ड छानविन गर्ने तयारीमा प्रम प्रचण्ड, को–को माथि होला अनुसन्धान ?

४ जेष्ठ २०८०, बिहीबार १८:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६३ सालमा शान्ति प्रक्रियाका क्रममा तत्कालिन जनमुक्ति सेनाको व्यवस्थापनको क्रममा अस्थायी शिविरमा राखिएका जनमुक्ति सेनाको नाममा भएको घोटालाबारे छानविन गर्ने तयारी सुरु गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा आफ्नै जनमुक्ति सेनाको रासन, व्यवस्थापनको नाममा गएको रकमा भएको घोटाला काण्ड छानविन गर्न लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सो सम्बन्धमा केही उच्च तहमा छलफल गरेको बताइएको छ । क्यान्टोनमेन्ट घोटाला काण्डमा १० अर्बभन्दा बढि घोटाला भएको भन्दै पटक पटक आवाज उठ्दै आएको छ । जनयुद्धको समयमा शहिदको रगतको जगमा गठन भएको जनमुक्ति सेनाभित्रको घोटाला काण्ड छानविन हुनुपर्ने माग तत्कालिन जनमुक्ति सेनाहरुले देश विदेशबाट गर्दै आएका छन् ।

अस्थायी शिविरमा रहेकाहरुलाई बाहिर निकालेर वाईसिएल बनाई अरु नै काममा लगाइएको, शिविरबाट भागेर गएकाहरुको नाममा समेत राशन खुवाएको भन्दै तत्कालिन जनमुक्ति सेनाका काण्डरहरुले घोटाला गरेको जनमुक्ति सेनामा आबद्ध व्यक्तिहरुको गुनासो छ । अस्थायी शिविरभित्रै उतिबेला सरकारबाट गएको पैसा र चेक नै खोसाखोस भएको चर्चा चलेको थियो ।

३२ हजार भन्दा बढि जनमुक्ति सेनालाई अस्थायी शिविरमा राखिएको समयमा नेपाल सरकारको कोषबाट खर्च गरिएको रकममा घोटाला भएको भन्ने सम्बन्धमा संसददेखि सडकसम्म चर्को आवाज उठिरहको छ । प्रधानमन्त्री प्रचण्ड आफै पार्टीको नेता भएपनि अस्थायी शिविरमा भएको घोटालाको रकम पार्टीमा खासै नआएको र डिभिजन कमाण्डरहरुले नै पचाएको चर्चा माओवादीभित्र छ ।

 

बिहिवार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै क्यान्टोनमेन्ट घोटाला काण्डको छानविन गर्न आफू तयार रहेको संकेत दिएका छन् । उनले अस्थायी शिविरमा रहेका जनमुक्ति सेनाका सदस्यहरुलाई भरण पोषण र व्यवस्थापन, भौतिक पूर्वाधार खर्च नेपाल सरकारबाट रकम गएको र सो रकम अडिट भई तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले समेत हेरेर प्रमाणित गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोको सबै हिसाब किसाब सरकारसँग रहेको बताएका छन् ।

छानविन भएमा हालका प्रभावशाली व्यक्तिहरुमाथि निर्मम छानविन हुनेछ । जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरु वर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ, जनार्दन शर्मा, प्रभाकर र चक्रपाणी खनाल, बलदेव शर्मा डेपुटी कमाण्डर थिए । त्यस्तै, जनमुक्ति सेनालाई देशका सात डिभिजन विभाजन गरिएको थियो । सो सात डिभिजनमा मध्ये पहिलो डिभिजनमा सन्तु दराई परवाना, दोस्रो नम्बरमा धनबहादुर मास्की राजेश, तेश्रो नम्वरमा कालीबहादुर खाम विविध, चौथो नम्वरमा, यमबहादुर अधिकारी प्रतिक्षा, पाँचौं नम्वरमा, सुकबहादुर रोका शरद, छैटौं नम्वरमा महेन्द्रबहादुर शाही प्रज्वल र सातौं डिभिजनमा जिवन बुढा रहेका थिए ।

स्मरणरहोस्, उल्लेखित व्यक्तिमध्ये जनार्दन शर्मा सबैभन्दा भ्रष्ट नेताको छवी बनाएर गत आम निर्वाचन लगत्तै अर्थमन्त्रीबाट बाहिरिएका छन् । उर्जा मन्त्री हुँदा उज्यालोका नायक भनेर चिनिएका जनार्दश शर्माले अर्थमन्त्री हुँदा चालु आवको बजेट बनाउँदा माफियालाई मध्यरातमा अर्थमन्त्रालयमा छिराएर करको दर हेरफेर गर्नुको साथै नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्य सिलवालसँग मिलेर अर्बौ रुपैयाँ घोटाला गरेका थिए । तत्कालिन डेपुटी कमाण्डर तथा निवर्तमान अर्थमन्त्री शर्माका विरुद्धमा एक दर्जन उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनकै क्रममा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*