असार १ गतेदेखि उपत्यका बाहिर चल्ने सार्वजनिक बसहरु अनिवार्य रुपमा नयाँ बसपार्कदेखि संचालन गर्नुपर्ने

१९ जेष्ठ २०८०, शुक्रबार १३:१३

काठमाडौं । असार १ गतेदेखि उपत्यका बाहिर चल्ने सबै सार्वजनिक यातायातका सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कबाटै चल्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिरका सवारीसाधनहरुलाई उक्त नियम अनिवार्य रुपमा लागू गरेको हो ।

महानगरपालिकाको सूचनाअनुसार काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्नेछ ।
जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधन गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । ‘काठमाडौंबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म रोक्न निषेध गरिएको छ। सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत सूचनामा उल्लेख छ। रासस

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*