शिवम् सिमेन्टको पहिरोग्रस्त क्षेत्रमा पुगे सांसद र सिडिओ, पहिरो नियन्त्रण नगरे कारवाही

हेटौडा । गत बिहिवार प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद महेश बर्तौलासहितको टोली शिवम् सिमेन्टको पहिरोग्रस्त खानीमा पुगेर दुर्घटनास्थलबारे जानकारी लिएका छन् । स्थानीयबासीले शिवम् सिमेन्टकोे कारण सामरी नदिमा बाढी आउने जोखिम बढेको र सुख्खा पहिरो गएकोले शिवम् सिमेन्टका तीन वटै खानी बन्द गर्न चर्को माग उठाइरहेका बेला सांसद बर्तौैलाको टोली घट्नास्थल पुगेर वस्तुस्थितिबारे जानकारी लिएको हो ।
सांसद बर्तौलासँगै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख र जिल्लास्थित सशस्त्र प्रहरीका उच्च अधिकारीको टोलीलाई साथमा लिएर गढीगाउँपालिकाको बुढिचौरस्थित शिवम् सिमेन्टको खानीको अवलोकन गरेको स्थानीय एमाले कार्यकर्ताले जानकारी दिएका छन् । सांसद बर्तौलाको टोलीले घट्नास्थल अवलोकन गरेर वस्तुस्थिति बुझेपछि अब शिवम् सिमेन्टको तीन वटै खानी पूर्ण रुपमा बन्द हुने विश्वास लिइएको आमभन्ज्याङ भालुखोलाका स्थानीयबासीको विश्वास छ । स्थानीयबासी हरि बजगाँईले अब बन्द हुनेमा आशावादी रहेको बताए । उनले भने, ‘सयौं स्थानीयबासीको घर खेत जोखिममा रहेको कुरा माननीयज्युले नै प्रत्यक्ष हेरेपछि अब त रोकिन्छ होला कि?’
सांसद बर्तौला, जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र प्रहरीको टोलीले शिवम् सिमेन्ट चुनढुंगा निष्काशन गरेर फ्याकिएको ढुंगा माटोका कारण पहिरो जाने जोखिम रहेको निष्कर्ष निकाल्दै स्थानीयबासीको जीउधनको सुरक्षा गर्न सरकारले कडा कदम चाल्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ । त्यसको लागि तत्कालै शिवम् सिमेन्टलाई पहिरो गएको ठाउँ तथा चुनढुंगा उत्खनन गरेर फ्याकिएको फोहोरलाई बाढीमा परिणत हुन नदिन आवश्यक चेक ड्यामहरु तत्कालै बनाउन निर्देशन दिइएको छ । सो टोलीमा सहभागी एक सदस्यले भने, ‘विगतमा पनि पटक पटक निर्देशन दिएको तर कम्पनीले पालना नगरेको पायौं, यस पटक तत्काल चेक ड्याम बनाएर पहिरो रोक्ने काम नगरे कडा कारवाही गर्न बाध्य हुने चेतावनी दिइएका छौं ।’
यता, शिवम् सिमेन्टका एक सञ्चालकले भने प्रशासनले भने बमोजिमका ड्यामहरु बनाउन नसकिने बरु सिमेन्ट उद्योग नै बन्द गर्ने कम्पनीको पुरानो अडान कायमै रहेको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो पटक शिवम् सिमेन्टले स्थानबासीको कडा विरोध र प्राकृतिक प्रकोपमा परेर सुख्खा पहिरोको सामना गर्नुपरेपछि सो कम्पनीका मुख्य सञ्चालकसहितका सञ्चालकहरुले आफ्नो शेयर धमाधम बिक्री गर्दै आएका छन् । कम्पनीका संस्थापक मध्येका एक तथा पूर्व अध्यक्ष सुरेन्द्र गोयलले त आफू अध्यक्ष पदमा हुँदा हुँदै अंशबण्डाको नाममा करोडौं रुपैयाँको शेयर उच्च मूल्य भएको मौका पारेर बिक्री गरेका थिए । पछिल्लो समय शिवम् सिमेन्टको शेयर धमाधम बिक्री हुने जारी छ । आइतबार मात्रै शिवम् सिमेन्टको सर्वाधिक १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बलराम पुडासैनी