सर्लाहीमा मिटरब्याजी विरुद्धको उजुरी बढ्दै, सबैभन्दा बढी मलङ्गवा नगरपालिकामा

२३ जेष्ठ २०८०, मंगलवार १४:४९

काठमाडौं । सर्लाही जिल्ला मलङ्गवा नगरपालिकामा सबैभन्दा धेरै मिटरब्याजी विरुद्धको उजुरी परेको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गरेको रिसर्चअनुसार सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका १ हजार ९ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका हुन् ।

आयोगका अनुसार जिल्लाभरबाट एक हजार नौ सय २० वटा उजुरी परेकामा मलङ्गवा नगरपालिकाबाट मात्रै चार सय ५८ वटा उजुरी परेको छ । आयोगका अनुसार ईश्वरपुर नगरपालिकाबाट १ सय ३१, बरहथवा नगरपालिकाबाट १ सय २८, कविलासी नगरपालिकाबाट १ सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१, ब्रह्मपुरी गाउँपालिकाबाट १ सय ४८ वटा उजुरी परेका छन् । बीस स्थानीय तह रहेको सर्लाहीमा ईश्वरपुर, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, ब्रह्मपुरी गरी ६ वटा पालिकाबाट मात्रै ६० प्रतिशतभन्दा बढी उजुरी परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यस्तै हरिपुर्वा नगरपालिकाबाट ९०, बलरा नगरपालिकाबाट ८४, चन्द्रनगर गाउँपालिकाबाट ६८, लालबन्दी नगरपालिकाबाट ६७, गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका छन् भने चक्रघट्टा गाउँपालिकाबाट ३७, धनकौल गाउँपालिकाबाट ३६, बसबरिया गाउँपालिकाबाट ३३, पर्सा गाउँपालिकाबाट ३२, विष्णु गाउँपालिकाबाट २३ र रामनगर गाउँपालिकाबाट पनि २३ उजुरी परेका छन् ।

जिल्लाभरमा सबैभन्दा कम बाग्मती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका छन् । उक्त कार्यालयले जेठ १४ गतेसम्म जिल्लाभरका मिटरब्याज पीडितहरुसँग उजुरी लिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*