संसदमा करको दर हेरफेरको बिषयमा आवाज चर्किएपछि अर्थमन्त्रीले दिए स्पष्टीकरण, वाह्य व्यक्तिको संलग्नता भएको छैनः अर्थमन्त्री

२४ जेष्ठ २०८०, बुधबार ११:०५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माण क्रममा वाह्य व्यक्तिको संलग्नता नभएको बताएका छन् । वाह्य व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दरमा चलखेल गरेको आरोप संसदमा उनले यस्तो जानकारी दिएका हुन् ।

सांसदहरूले करका दर निर्धारण गर्ने बेला वाह्य व्यक्तिको प्रवेशका विषयमा अर्थमन्त्री महतसँग प्रश्न गरेका थिए। महतले भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठ आफू अर्थमन्त्री हुनुभन्दा अघि नै नियुक्त भएको जानकारी दिए। सबैले राम्रो र अनुभवी व्यक्ति भनेकाले उनलाई निरन्तरता दिएको महतले स्पष्ट पारेका छन्।

बजेट टाइप र करका दर इन्ट्रीबाहेक करका दरको निर्णय प्रक्रियामा श्रेष्ठ सहभागी नभएको अर्थमन्त्री महतले प्रष्ट पारेका छन्।’बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिव, भन्सार र आन्तरिक विभागका महानिर्देशकले करको दर तय गर्ने र सो दरलाई करारमा नियुक्त भएका श्रेष्ठले प्रविष्ट गरेका मात्र हुन्,’ जेठ १४ राति अनधिकृत व्यक्ति प्रवेश ग¥यो भन्ने समाचार गलत भएको जिकिर गर्दै उनले भने।

आधिकारिक व्यक्तिले निर्णय भएको अधिकारीको आदेशमा करका दर भर्नका लागि वर्षौंदेखि काम गर्दै हार्मोनाइज्ड कोड राखेको र उनले सहयोगीको काम गरेको महतको जिकिर छ। ’बिचौलियालाई छेउछाउमा आउन दिएको छैन, सबैले दिएका सुझावका आधारमा समयले भ्याएसम्म जरोसम्म गएर करका दरमा विवेकपूर्ण निर्णय गरिएको छ,’ अर्थमन्त्री महतले भने।

जथाभावी करका दर बढाएको जिकिर गर्दै सांसदले प्रश्न गरेपछि अर्थमन्त्री महतले मूल्य अभिवृद्धि कर (भ्याट) को क्षेत्र संकुचन हुँदा राजस्व असुली कम भएको बताए।केही वस्तुमा भ्याटको दायरा बढाएको अर्थमन्त्रीले स्पष्ट पारेका छन्। अन्तःशुल्कमा मात्र निर्भर हुनुहुँदैन भन्ने मान्यताका आधारमा भ्याटको दायरा बढाएको उनको भनाइ छ।

इभीमा करको दर पेट्रोलियम गाडीको भन्दा धेरै कम भएको उनले बताए। पेट्रोलियम गाडीमा ३ सय प्रतिशतसम्म कर छ। इभीलाई प्रोत्साहन गर्न नयाँ करको दर भन्सार कम गरेको हो। समयअनुसार इभीको करका दरलाई विवेकपूर्ण बनाइएको उनले जिकिर गरे।

१ सय किलोवाटको गाडीमा १५, २ सय किलोवाटमा २० र त्यसभन्दा बढी क्षमताको गाडीमा ३० प्रतिशतसम्म कर लगाएको अर्थमन्त्रीले स्पष्ट पारे। बजेटले गाडी डिलरले धेरै फाइदा राखेकाले यसको लाभ खरिदकर्ताले नपाउने अवस्थालाई हटाएको उनले बताए। अर्थमन्त्री हुने दिनदेखि कोहीबाट पनि प्रभावित नहुने प्रतिबद्धता गरेको छु, यो जिम्मेवारीलाई पूर्णकर्तव्यका साथ पूरा गर्ने छु।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*