नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट फेस्टिभल असारको दोस्रो सातादेखि सुरु हुने

काठमाडौं । नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट फेस्टिभल असारको दोस्रो सातामा सुरु हुने भएको छ ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनिया दुतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुको साथै पर्यटन पवद्र्धनमा पनि टेवा पुग्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यो महोत्सवले समग्र मुलुककै पर्यटनमा नयाँ आयाम थप्नुका साथै पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए।यस्ता कार्यक्रमा यो वर्ष मात्र नभई हरेक वर्षमा निरन्तरता दिने योजना रहेको उनले बताए ।नेपालमा चिनिया पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनिया दुतावास र पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
पर्यटन सम्वद्ध विभिन्न क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको महोत्सव आउँदो असार ८ र ९ गते आयोजना हुने बोर्डले जनाएको छ।आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३) पोखरामा पहिलो पटक उक्त फेस्टिभल आयोजना हुन लागेको बोर्डले जनाएको छ।
कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एसोसिएसन सह आयोजकका रुपमा रहनेछन्। कार्यक्रमका लागि बिहीबार बोर्ड र चिनीयाँ दूतावासका अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको बोर्डले बताएको छ। यस प्रकारको वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनीयाँ पक्षले बताएको छ। फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागीता गराइने छ।