पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबैध रुपमा सञ्चालित ! आयटा कोड नलिई भइरहेका उडान र अवतरण तत्काल रोक्न माग

२६ जेष्ठ २०८०, शुक्रबार १०:२६

काठमाडौं । पोखरा नयाँ निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको वैधानिकतामाथि प्रश्न चिन्ह उठेको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार गैर सैनिक उडान तथा अवतरणको लागि आवश्यक आयटा (IATA) कोड नै नलिई पुरानो विमानस्थलको कोड गैर कानुनी रुपमा प्रयोग गरिएको रहस्योद्घाटन भएको छ ।

सामाजिक अभियान्ता ई. दीपेन्द्र कँडेलले पोखरा विमानस्थलमा भइरहेको उडान र अवतरण गैर कानुनी भएको दावी गरेका छन् । सो तथ्यमाथि बीमापोष्टले थप अध्ययन गर्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलले आएटा कोड नलिई गैर सैनिक उडान तथा अवतरण गर्दै आएको खुलेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि आएटा कोड नलिई उडान तथा अवतरण भइरहेको स्वीकार गरेको छ । सरकारी निकाय, नियामक क्यान र एयरलाइन्स कम्पनीहरुको मिलेमतोमा गैर कानुनी रुपमा हवाई उडान तथा अवतरण गराउँदै आएको तथ्य उजगार भएको छ ।

सामाजिक अभियान्ता तथा वाईडबडी काण्डको घोटालाबारे यथार्थ विवरण सार्वजनिक गरेर चर्चामा आएका इ. दीपेन्द्र कँडेलले काठमाडौं–पोखरा रुटमा सञ्चालित हवाई जहाजहरुले अनाधिकृत रुपमा नयाँ एयरपोर्टमा उडान र अवतरण गर्दै आएको तथ्य फेला पारेको बताए । ई. कँडेल आफै पोखरा जाँदा पुरानो विमानस्थलको आयटा कोड (पिकेआर) राखेर नयाँ विमानस्थलमा अवतरण गराइएको तथ्य फेला पारेका छन् । पुरानो विमानस्थलसम्म काठमाडौंबाट दुरी २५ मिनेट हो भने नयाँ विमानस्थलसम्मको दुरी जम्मा २३ मिनेटको मात्रै हो । तर, विमान कम्पनीहरुले विभिन्न लाभका लागि पुरानो विमानस्थलको आयटा कोड राखेर उडान तथा अवतरण गराउँदै आएको पाइएको छ । आयटा कोड नलिई सञ्चालन हुँदा यात्रु ठगिने, हवाई रुट तथा हवाई सुरक्षा संवेदनशिलतामाथि गम्भिर खेलवाड गरेको तथ्य उजागर भएको छ ।

सञ्चालनमा आए लगत्तै दुर्घटनाको सामना गरेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले आएटा कोड नै नलिईएको अवस्थामा कसरी एआईपी तयार गरियो ? अर्को प्रश्न पनि सँगै उब्जेको छ । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले आएटा कोडा नलिएको तथ्य स्वीकार गर्दै पुरानै विमानस्थलको कोड प्रयोग गरेर उडान र अवतरण भइरहेको स्वीकार गरेका छन् । साथै गौतमले पुरानो विमानस्थल र नयाँ विमानस्थलमा एउटै कोड हुने समेत बताए । गौतमका अनुसार यात्रु र एयरलाइन्सले बुझेमा समस्या हुदैन ।

विश्वमा केही दुर्लभ मात्रै यस्ता अभ्यासहरु भएपनि आयटा कोड नलिई सञ्चालन गर्नु गैर कानुनी हुन्छ । पोखरामा रहेको आन्तरिक विमानस्थल र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बीचको दुरी पौने छ किमीको रहेको छ । एउटा विमानस्थलमा भनेर बोलाएर अर्को विमानस्थलमा पुग्न करिब आधा घण्टाको समय लाग्नेछ गर्दछ ।

क्यानकै पूर्व प्रमुखहरुले आयटा कोड नलिई उडान र अवतरण गर्न नमिल्ने प्रतिक्रिया दिए । परिचय नखुलाउने शर्तमा उनले भने, ‘यो विषय क्यान र हवाई जहाज कम्पनीहरु सबैको गम्भिर त्रुटी हो ।’ हवाई जहाजले प्रत्येक उडानमा आफ्नो गन्तव्य निश्चित गरेको हुन्छ । सो निश्चित गन्तव्यको रुपमा पोखराको पिकेआरलाई चिनाउँदछ । तर, पाँच किमी परको अर्को विमानस्थललाई सोही नामबाट सञ्चालन गर्नु यात्रु ठग्ने अपराध समेत भएको हवाई विज्ञहरुको भनाई छ ।
पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आयटा कोड नलिई उडान र अवतरण गराइदै आएको सम्बन्धमा हवाई सुरक्षा विभागका राजु श्रेष्ठसँग जिजाशा राख्दा कुनै जवाफ दिएनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी केशव भूलले आयटा कोड प्राधिकरणको सरोकारको विषय नभएको प्रष्ट पारे । उनले भने, ‘त्यो हाम्रो चासोको विषय होइन । हामीलाई चाहिने आईकाओ कोड हो, त्यो कोड भिएनपिआर लिइसकेका छौं ।’ साथै उनले पुरानो एयरपोर्ट बन्द गरेर सो कोड नयाँ एयरपोर्टलाई नै आयटा कोडको रुपमा प्रयोग गर्ने तयारी भइरहेको समेत बताए । भूलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्टै आयटा कोड नभएको तथ्य स्वीकार गरेका छन् । तीन नटिकल माइलको दुरी फरक पर्दैमा भाडा दर एउटै हुने हुँदा यात्रु ठगिएको कुरा सत्य नभएको समेत बताए ।

उता, सामाजिक अभियान्ता ई. कँडेलले प्रत्येक यात्रुसँग दुई मिनेटको कम समय उडाएर २५ मिनेटकै भाडा असुली गर्दै आएकोले अब आफूले एयरलाइन्स कम्पनीहरुलाई नछोड्ने बताएका छन् । उनले यस सम्बन्धमा कानुनी कारवाहीको प्रक्रिया छिट्टै सुरु गर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*