अर्थमन्त्रीलाई भ्याटको निर्णय फिर्ता लिन आलु प्याज आयात गर्ने व्यवसायीको आग्रह

२९ जेष्ठ २०८०, सोमबार १६:२६

काठमाडौं । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक बिक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम कदम चालेको आरोप लगाएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्रेता संघले आलुप्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाईका दरले महंगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोत्साहित र उपभोक्ता चिन्तित रहेको बताए ।

बजेट र आर्थिक विधेयक २०८० ले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए । अर्थमन्त्री महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने, “यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने,उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।” अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर उपभोक्ता, यसका कारोबारमा संलग्न व्यवसायी र अन्तमा हरेक नेपाली भान्सासम्मै पर्ने निश्चित छ ।

सरकारको नीतिपछि व्यवसाय बचाउन आफूहरु हारगुहार गरिरहेको भन्दै उनले भन्सार नाकामा आएको वस्तु भन्सार पास गर्न पनि नसकेको बताए । आलु र प्याज जस्तो नाशवान वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । कर लगाउँदा व्यवसायमा के असर पर्दछ भनी अध्ययन नगरी हचुवाको निर्णय लिँदा वषौंदेखि व्यवसाय गरिरहेकाहरु व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बानियाँको तर्क छ । अध्यक्ष बानियाँले भ्याटको निर्णयबाट पछाडि फर्कन पनि अर्थमन्त्रीलाई आग्रह पनि गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*