स्वास्थ्य बीमामा विभेद भएको बीमितको आरोप

६ असार २०८०, बुधबार १६:४९

काठमाडौं । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य बीमा बोर्डमार्फत स्वास्थ्य बीमागरेका बिरामीलाई बेनी अस्पतालमा दोस्रो दर्जाको व्यवहार गर्ने गरेको आरोप लगाएका छन् ।

नगरपालिकाले आयोजना गरेको आव २०८०।८१ को नीति योजना तथा कार्यक्रमका लागि सुझाव सङ्कलन तथा चालु आर्थिक वर्षको अन्तिम चौमाससम्म भएका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाइका क्रममा केसीले उक्त गुनासो गरेका हुन् ।स्वास्थ्य बीमाको सेवा लिन बेनी अस्पतालमा जाँदा त्यहाँका चिकित्सक तथा कर्मचारीले आफू एवं अन्य बिमितलाई पनि फरक व्यवहार गरेको केसीको गुनासो थियो । केसीले भने, मैले पहिला पनि सेवाको बारेमा प्रश्न उठाएको थिएँ र हिजो िमात्रै म सेवा लिन जाँदा पनि त्यस्तै व्यवहार भोग्नुपर्यो ।

सर्वसाधारणले गरेको प्रश्नको जवाफ दिँदै केसीले पर्यटकीय क्षेत्रमा स्थानीय व्यवसायीले जिल्लाभित्रभन्दा बाहिर लगानी गरेको खण्डमा जिल्लाको व्यापार बढ्ने बताए ।प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जिल्लाभित्रका स्थायी तथा अस्थायी रुट कायम भएका सडकको वैज्ञानिक भाडादर निर्धारण गरिएको बताए । उनले बागलुङ बेनी सडक, बेनी दाना सडक तथा बेनी दरवाङ सडकमा पनि उचित भाडादर निर्धारण गरिएको बताए ।

कालीगण्डकीको शिला भारत पठाएको भन्ने प्रसङ्गमा प्रजिअ पौडेलले नेपाल सरकारको निर्णय अनुरुप गण्डकी प्रदेश सरकारले जानकी मन्दिरलाई शिला उपलब्ध गराएको र जानकी मन्दिरले भारतको अयोध्यामा निःशुल्क रुपमा शिला पठाएको बताए । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकाको कुल बजेट ७९ करोड १८ लाख १३ हजार रुपियाँ रहेकोमा हालसम्म समग्रमा ६९ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

बेनी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइको खुला सत्रको समन्वय पत्रकार महासङ्घ म्याग्दीका पूर्वउपाध्यक्ष ठाकुरप्रसाद शर्मा, सदस्य कमल खत्री र पत्रकार राकेश शर्माले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापा, बेनी नगरपालिकाका पूर्वप्रमुख तथा उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*