घोराही सिमेन्टको आईपिओको दोषीलाई चोख्याएर निर्दोषको नाममा राजनीति, पुँजि बजार माफियाको हातमा पुगेकै हो ?

१० असार २०८०, आईतवार ०७:२७

समाचार टिप्पणी

काठमाडौं । नेपालको पुँजि बजारको क्षेत्रमा यतिबेला घोराही सिमेन्टको आईपिओको चर्चा अझै सेलाइसकेको छैन । दाङमा रहेको घोराही सिमेन्टले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले निष्काशन गरेको आईपिओ हाल स्थगित अवस्थामा छ ।

१०० रुपैयाँमा बिक्री गर्नुपर्ने आईपिओ ४३५ रुपैयाँ असुल गरी बाँडचुड गर्ने मनसाय साथ अघि बढेको घोराही सिमेन्ट घोटाला काण्डमा ठूलो मिलेमतो हुँदा पनि स्वतन्त्र छानविन हुन सकिरहेको छैन । छानविन गर्नुपर्ने नियामक आफै संलग्न भई घोटाला काण्ड रचिएको घोराही सिमेन्टको छानविन नहुने हो भने नेपाली पुँजि बजारमा दलाल, माफिया, कीर्ते र दुई नम्बरीहरुको हातमा पुग्ने निश्चित देखिएको छ ।

अहिले खातामा रकम नभएको व्यक्तिले लाखौं रुपैयाँको आवदेन भरेको र ति व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने चर्चा बाहिर आइरहेको छ । आखिर के हो घोराही सिमेन्टको विवाद र यसको भित्री पाटो ? आम मानिसहरुले बुझ्न खोजिरहेका छन् ।

घोराही सिमेन्टको आईपिओ प्रकरणमा उक्त सिमेन्टका मालिक पुरुषोत्तम लाल संघाई, गोविन्दलाल संघाई, आदित्य संघाई, हर्षवद्र्धन संघाई र त्रिलोकचन्द्र अग्रवाल मुख्य लगानीकर्ताहरु हुन् । उनीहरुको ठूलो हिस्सा घोराही सिमेन्टमा शेयर रहेको छ । आर्थिक संकट र सिमेन्ट उद्योगहरुका बीचमा बढ्दो प्रतिस्पर्धाका कारण घोराही सिमेन्टको उत्पादन राम्रो बिक्री हुन सकेन र कम्पनीले अप्ठेरो अवस्थामा पुग्यो । तर, ति कुराहरु बाहिर नदेखाई कम्पनीले फटाफट बुक बिल्डिङमा आईपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढायो ।

व्यापारिक समुहले जनतालाई महंगो मूल्यमा आईपिओ किन्न लगाएर त्यसबाट पुँजि जुटाएर कम्पनीलाई टिकाउने रणनीति अख्तियार गर्यो । तर, सो कार्यमा संघाई ग्रुप एक्लैले गरेको भने होइन । यसको मतियार बन्न पुगे नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल । पैसा पाएपछि जे पनि गर्न तयार भएका हमालले नेपालको आर्थिक नीति विपरित गएर प्राकृतिक स्रोतमाथि व्यापार गर्ने कम्पनीलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गर्न अनुमति दिए । जुन नेपालको पुँजि बजारको इतिहासकै कालो धब्बा थियो । अतिरिक्त मूल्य आम सर्वसाधारणले पाउने गरी प्राकृतिक स्रोत र लाइसेन्सिङको क्षेत्रमा १०० रुपैयाँमा नै आईपिओ जारी गर्नुपर्ने यसअघिको सरकारी आम नीति विपरित गएर हमालले संविधान विपरितको नीतिलाई पारित गरिदिए ।

डुब्न लागेको कम्पनीसँग आवश्यक र पर्याप्त मात्रामा कागजात माग नगरी रेटिङ गर्ने कम्पनी यसको बीचमा अर्को कारक बनेर आएको छ । घोराही सिमेन्टको आईपिओको रेटिङ्ले बीबीबी प्लस इज रेटिङ दिएको थियो । जुन कीर्ते र नक्कली भएको तथ्य बाहिर आइरहेको छ ।

संसारमा आवेदन दिने व्यक्तिको आवेदन रद्ध गर्ने व्यवस्था हुँदा हुँदै थप कारवाही गर्ने नियम कतै छ ? तर, नेपालमा आवेदकमाथि कारवाही गर्ने भनेर हल्ला पिटाइएको छ । तर, यसको वास्तविकता मुख्य अभियुक्तहरु घोराही सिमेन्टका लगानीकर्ताहरु, केयर रेटिङ र पैसाको लागि सरकारी नीति विपरित महंगो मूल्यमा आईपिओ जारी गर्न अनुमति दिने नेपाल धितोपत्र बोर्ड र यसका अध्यक्ष रमेश हमालहरुलाई चोख्याएर निर्दोषमाथि कारवाही गर्ने भन्दै हौवा पिटिएको छ । यसले नेपालको पुँजि बजार कसरी कृत्तिम रुपमा चलिरहेको छ भन्ने कुराको पुष्टि गर्दैन र ? सर्वसाधारण लगानीकर्ताहरुमाथि यति ठूलो धोका हुँदा पनि कुनै लगानीकर्ताहरुले चुईक्क नबोल्नु अर्को आश्यर्चको विषय बनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*