नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने, प्रथमलाई एक लाख पुरस्कार

८ आश्विन २०८०, सोमबार १२:१०

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी देशव्यापी रुपमा सचेतना तथा ज्ञान अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्थाको आह्वान तथा नेपाल धितोपत्र बोर्डको समन्वयमा यही असोज १५ गतेदेखि असोज २१ गतेसम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
सोही अवसरमा मर्चेन्ट बैंकरहरुको छाता संगठन मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले यही असोज १८, १९ र २० गतेका दिन विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाण्डौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीहरुका बीचमा पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उक्त हाजिरी जवाफ प्रतियोगिताका लागि प्रतियोगी विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको हुनुपर्ने र कुनै पनि कलेजले प्रत्येक संकायबाट स्नातक तहमा अध्ययनरत २ जना विद्यार्थी संलग्न गरी एक एक टोली छनोट गर्नुपर्ने र प्रत्येक टोलीको लागि प्रवेश शुल्क बापत रु. १०,०००।– निर्धारण गरिएको छ ।
प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले जनाएको छ । जस अनुसार प्रथम हुने टोलीको लागि रु. १ लाख, द्वितीय हुने टोलीको लागि रु. ५० हजार तृतिय हुने टोलीको लागि रु.२५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिनको लागि यही असोज १२ गते भित्र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको ईमेल ठेगाना [email protected] मा प्रतियोगी टोलीको नामावली पठाउन संघले स्नातक तह सञ्चालन गरिरहेको काठमाण्डौं उपत्यकास्थित सम्पूर्ण कलेजहरुलाई आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*