दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

२९ आश्विन २०८०, सोमबार १०:१९

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

काठमाडौँ उपत्यका भित्रका सर्वसाधारणले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्न सक्नेछन्।

काठमाडौँ उपत्यका बाहिरका सर्वसाधारणले राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सतहीको सुविधा लिन सक्नेछन्।

सर्वसाधारणले साना ठूला सबै गरेर अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको छ। ५, १०, २०, ५० र १०० रुपैयाँ दरका बन्डलले १८ हजार ५०० रुपैयाँ नै उपलब्ध हुने व्यवस्था केन्द्रिय बैकले गरेको छ। यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ नोट साटिने आँकलन गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*