इन्धनको मूल्यवृद्धिमा प्रधानमन्त्री प्रचण्डको हस्तक्षेप, आजै फिर्ता गर्ने निर्णय

१४ आश्विन २०८०, आईतवार १२:५९

काठमाडौं । नेपाल आयल निगमले हिजो वृद्धि गरेको इन्धनको मूल्यमाथि ठाडै हस्तक्षेप गर्दै प्रधानमन्त्री प्रचण्डले आजै मूल्य घटाउन निर्देशन दिएका छन् । नेपाल आयल निगमका प्रबन्धक निर्देशक उमेश थानीले हिजो मात्रै स्वचालित मूल्य भन्दै दशैंको मुखमा उपभोक्ताको ढाड सेक्ने निर्णय गरेका थिए । सो निर्णयले आम उपभोक्ता आक्रोसित छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान आयल निगमबाट भएको जनविरोधी निर्णय तत्काल सच्चाउन आपूर्ती मन्त्रालयमार्फत निर्देशन दिने निर्णय गरेका छन् । यससँगै आयल निगमले हिजो वृद्धि गरेको मूल्य आजैबाट फिर्ता भई घट्ने भएको छ ।

प्रधानमन्त्री चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको जवाफ दिएका थिए । प्रधानमन्त्रीले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने पनि प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*