इजरायलले पाँच सयबढी केयरगिभर लैजाने

काठमाडौं । इजरायलले नेपालबाट यो पल्ट पाँच सयबढी केयरगिभर लैजाने भएको छ । जिटुजीमार्फत केयर गिभर लैजाँदै आएको इजरायलले यो पल्ट पाँच सय बढी केयरगिभर पठाउने तयारी गर्न नेपाल सरकारलाई आग्रह गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सम्बन्धित शाखा प्रमुख डम्बर बहादुर सुनुवारका अनुसार केयरगिभरका लागि प्रस्ताव आइसकेको भए पनि संख्या बढाउने संदर्भमा परामर्श भइरहेकाले सूचना जारी गरिएको छैन ।
विभागीय मन्त्रालयले अहिलेसम्म इजरायलबाट लेखिआएको संख्या पाँच सय रहेको बताइउँदै आएको छ । तर, सम्बन्धित शाखा प्रमुख सुनुवारले संख्या पाँच सय भन्दामाथि हुने पक्का पक्की रहेको बताए । उनले बीमापोष्टसँग भने, ‘संख्या पाँच सय भन्दा माथि हुन्छ, यो पक्का हो । सूचना कहिले निस्किने भन्नेबारे दुई चार दिनमा क्लियर हुन्छ । अहिले हामी जर्मनी र रोमानियासँगको श्रम सम्झौता गर्ने काममा जोड तोडले लागेका छौँ ।’
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले समेत प्रोटोकल लगायतका थप छलफलहरु बाँकि रहेकाले संख्या बढ्न सक्नेतर्फ संकेत गरे । यसअघि उनले इजरायलले पाँच सयको संख्या मात्रै लेखिपठाएको बताउँदै आएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले केयरगिभरको तालिम दिने प्रयोजनका लागि संस्था छनोट प्रक्रिया अघि बढाइसकेको छ । विभागले तालिम दिन इच्छुक संस्थाहरुको सूची माग गर्दा ३२ वटा तालिम प्रदायक संस्थाले आवेदन दिएका छन् । त्यस मध्येबाट मापदण्ड पुगेको संस्थाहरु छनोट हुने छन् र तिनले केयरगिभरका लागि इजरायल जाने आवेदकहरुका लागि तालिम सञ्चालन गर्न पाउने छन् ।
इजरायलमा अहिले जिटुजीमार्फत जाने केयरगिभरको अधिक माग रहेको र उसले मागेको भन्दाबढी संख्यामा केयरगिभर पठाउन सके ठूलो उपलब्धि हुने विभागीय मन्त्रालयका अधिकारीहरु बताउँछन् । यसअघि ११ सय केयरगिभर इजरायल गइसकेका छन् । इजरायलमा रहेको दुतावासले दिएको जानकारी अनुसार पाँच सयको माग आइसकेको र थप पाँच सयका लागि छलफल भइरहेको छ । यस्तै, तेस्रो चरणमा माग गर्ने भनिएको कोटा संख्या पनि अब हुने थप छलफलका क्रममा तय हुने बताइएको छ ।
इजरायल आकर्षण किन ?
नेपाली कामदारको मेहिनतबाट इजरायली रोजगारदाता खुसी रहेका कारण राजदूत हनान गोडेर लगातार नेपाल सरकारसँग छलफलमा छन् । आम्दानीका हिसाबले समेत आकर्षक श्रम गन्तव्य रहेको इजरायलमा हुण्डीको कारोबारमा कडाई रहेका कारण रेमिट्यान्स बढ्ने अपेक्षा सरकारले गरेको छ । गएको आर्थिक वर्षमा नेपालबाट रोजगारीका लागि इजरायल जाने क्रमिकको संख्या बढेका कारण रेमिट्यान्स बढेको आँकडा छ ।
सन् २००९ सम्म इजरायलमा मेनपावर कम्पनीमार्फत कामदार जाने गरेका थिए । कम्पनीमार्फत जाने श्रमिकसँग चर्को सेवा शुल्क असुली गरेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । दुई वर्षअघि (२०७७ असोज १४) जिटुजीमार्फत केयरगिभर लैजाने सम्झौता भएपछि त्यसै अनुसारको प्रक्रियाबाट श्रमिक लैजाने बाटो खुलेको हो ।