अर्थमन्त्रीले भने-बजारमा हल्ला गरिएजस्तो अर्थतन्त्र डामाडोल भइसकेको छैन

१९ आश्विन २०८०, शुक्रबार १३:२२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजारमा हल्ला गरिएजस्तो अर्थतन्त्र डामाडोल भइनसकेको बताएका छन्। चितवन पुगेका अर्थमन्त्री महतले भरतपुर विमानस्थलमा पत्रकारसँग अर्थतन्त्रमा आएको सिथिलतालाई समाप्त पारेर गति दिन सरकार अहोरात्र खटिरहेको बताए।

निर्माण व्यवसायीको बक्यौता रकम दसैंअघि नै भुक्तानी गर्ने गरी तयारी भएको समेत मन्त्री महतले बताएका छन् । उनले भने, ‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ,’ बाहिर चर्चा भएजस्तो ठूलो रकम नभई अब ६–७ अर्ब मात्रै भुत्तानी बाकी छ।’

सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिइसकेका कारण यसको समस्या समाधानमा अफ्ठेरो नहुने अर्थमन्त्री महतको भनाइ छ । बिहीबार मात्रै निर्माण व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफुहरुको भुक्तानी दशैं अगावै गर्ने वातावरण मिलाइदिन भनी आग्रह गरेका थिए ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने समेत अर्थमन्त्रीले अपेक्षा गरेका छन् । उनले व्यवसायीलाई समेत अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*