नब्बे लाख गैरकानूनि सम्पत्ति आर्जन गरेको आरोपमा स्याङ्जाका सिनियर अहेव कोईरालाबिरुद्ध मुद्दा दायर

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका कार्यालयका सिनियर अहेव बिन्दु कोईरालाबिरुद्ध अख्तियारले ९० लाख भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
कोईरालाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ मंसिर ५ गतेदेखि २०७८ पुस २१ गतेसम्मको अवधिमा सम्पत्ति छानविन गर्दा कोईरालाले कुल २ करोड ९७ लाख ८१ हजार ८०२ बराबरको आय गरेकोमा सोही अवधिभित्र उनले ३ करोड ८८ लाख २१ हजार ४२२ बराबरको खर्च गरेको अख्तियारले दावी गरेको छ । आय बाट व्यय घटाँउदा बाँकी रहेको ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
कोईरालालाई सोही स्रोत नखुलेको रुपैयाँ बराबरको बिगो कायम गरी शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । साथै उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती गीता कोईरालाको नाममा समेत रहेकाले विगो जफत गर्ने प्रयोजनार्थ मात्र गीता कोईरालालाई समेत प्रतिबादी कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।












