स्वास्थ्य बीमा बोर्डको को–पेमेन्ट प्रणाली आजदेखि लागू, १०% रकम बीमित आफैले तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले लागू गरेको को–पेमेन्ट (सह– भुक्तानी) प्रणाली अनुसार आज (माघ १ गते) देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने भएको हो।
अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा १० प्रतिशत को–पेमेन्ट व्यवस्था लागू हुनेछ।
यता नेपाल सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरु जस्तैः आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोग, कुष्ठरोग, औलो, कालाजारसहित हात्तीपाइ तथा नेपाल सरकारले निःशुल्क निदान तथा उपचार गर्ने भनी तोकेका विभिन्न सरुवा रोगहरुमा भने यो को–पेमेन्टको व्यवस्था लागू हुनेछैन।
यसैगरी नेपाल सरकारद्वारा संचालित खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व लगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रमहरु, महामारी रोगको नियन्त्रण, रोकथाम, निर्मूलन र उन्मुलनमा गरिने सेवाहरु, सामुहिक भवितव्य, दुर्घटना, महामारी, आपतकालीन सेवा, सर्पदंश, कुकुरको टोकाई, योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रबर्द्धनात्मक सेवा र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने औषधिमा पनि यो व्यवस्था लागू नहुने बीमा बोर्डले बताएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र, २५ शय्या सम्मका सरकारी अस्पतालमा को–पेमेन्ट प्रणाली लागू नहुने बोर्डले बताएको छ । त्यस्तै,संघीय अस्पताल, २५ शय्या माथिका प्रदेश, प्रादेशिक अस्पताल, सबै निजी वा सामुदायिक अस्पतालहरुमा यो प्रणाली लागू हुने बोर्डले बताएको छ ।
त्यसैगरी, अति गरिबको परिचय प्राप्त परिवार, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचय पत्र पाएका अपाङ्ग (रातो कार्ड), एचआइभी एड्स संक्रमित जटिल क्षयरोगि, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविका आदि र नेपाल सरकारले समय समयमा तोकेको समूह वा वर्गहरु को–पेमेन्टको व्यवस्था लागू हुने लक्षित वर्ग रहेको बोर्डले स्पष्ट पारेको छ ।
को–पेमेन्ट अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिएका सेवाग्राहीहरुले कुल खर्चको १० प्रतिशत को–पेमेन्ट गर्नु पर्नेछ। स्वास्थ्य संस्थाहरुले सुविधा थैलीमा भएको व्यवस्था अनुसार सेवाग्राहीलाई खर्च र सुविधाको थैली बारेमा स्पष्ट बुझाई कुल खर्चको १० प्रतिशतले हुन आउने रकम सेवाग्राहीसंग लिनु पर्नेछ। सेवा प्रदायक स्वास्थ्य संस्थाले रकम भुक्तानी लिएपछि बाँकी ९० प्रतिशत सोधभर्ना लिनुपर्ने विवरण स्पष्टरुपमा समावेश गरी बीमा बोर्डसँग नियमानुसार दाबी गर्नु पर्नेछ।
को–पेमेन्ट प्रणाली लागू गर्ने अवस्थामा यस्तो सेवा दिएका सेवा प्रदायकले मासिकरुपमा कति प्रतिशत सेवा प्रदायकबाट असुली भयो र कति बीमा बोर्डबाट दाबी गरियो त्यसको अभिलेख राख्नु पर्नेछ।












