अन्तर्राष्ट्रिय बजारमा नेपाली सिमेन्टको बढ्दो व्यापार, निर्यातको आँकडामा किन सन्तुष्ट छैनन् उद्योगी ?

दिपक विष्ट
१३ चैत्र २०८०, मंगलवार १८:१७

काठमाडौँ । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढेको देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली सिमेन्टको व्यापार बढ्दो क्रममा रहेको छ । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा सिमेन्ट निर्यातले भने राहत दिएको देखिन्छ ।

नेपालबाट निर्यात हुने बस्तुहरूमा सिमेन्टले ठुलो हिस्सा ओगटेको छ । नेपालबाट निर्यात हुने सिमेन्ट तथा क्लिङकर उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट २ अर्ब ४७ करोड १७ लाख ४१ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर निर्यात भएको छ। जुन गत आर्थिक वर्षको भन्दा करिब ८ गुणाले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालबाट जम्मा ३० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर निर्यात भएको थियो ।

फागुन महिनामा मात्रै नेपालले ४१ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकर निर्यात गरेको छ । साउन २३ करोड ५० लाख रुपैयाँ, भदौमा १८ करोड ३४ लाख रुपैयाँ, असोजमा ४३ करोड ४५ लाख रुपैयाँ, कात्तिकमा २७ करोड ७६ लाख रुपैयाँ, मङ्सिरमा ३६ करोड १५ लाख रुपैयाँ, पुस २७ करोड नौ लाख रुपैयाँ र माघमा २९ करोड ७५ लाख ४१ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएसँगै निर्यातको पहिलो सूचीमा पर्ने थालेको हो । हाल नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट, सिजी सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । यी उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । मुलुकबाट हुने समग्र निर्यातमा सिमेन्ट र क्लिंकरको योगदान २.४६ प्रतिशत रहेको छ । सिमेन्टलाई चाहिने प्रमुख कच्चापदार्थ चुनढुङ्गा खानी नेपालमा प्रशस्त छन् । सोही कारण नेपालमा सिमेन्ट उद्योग फस्टाउन गएको अवस्था छ ।

नेपालमा विकास निर्माणका काम ठप्प भएकाले आन्तरिक खपत भने ओरालो लागि रहेको छ । निर्माण व्यवसायीले काम गरेको रकम नपाउने अवस्था र निजी क्षेत्रबाट नयाँ आयोजना आउने अवस्था नहुँदा आन्तरिक खपत घटेको छ । आन्तरिक बजारमा खपत घटेपछि व्यवसायी निर्यात तिर हाबी भएका हुन् । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन विज्ञापन समेत उद्योग व्यवसायीले गर्ने गरेका छन् । अहिले अर्घाखाँची, सर्वोत्तम र पाल्पा लगायतका सिमेन्टले भित्ते विज्ञापन गर्ने थालेका हुन् ।

के भन्छन् व्यवसायी ?

नेपालले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँसम्मको सिमेन्ट निर्यात गर्ने सक्ने सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले बताए । सरकारको नजरमा सिमेन्ट उद्योगहरू टाढा पर्दा उद्योगीहरू मारमा परि रहेको उनले बताए । उनले भने, – ‘पछिल्लो समय हाम्रो उद्योग खराब अवस्थामा रहेका छन् । व्यवसायीले बजार खोजी रहेको छ । तर, आवश्यक बजार भेट्न नै सकेको अवस्था छैन । खपत बढ्न सकेको छैन । उद्योग ३०/३५ प्रतिशतमा चलेको छ । हामीले १ खर्ब ५० अर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सक्छौँ । हामी तर २/३ अर्ब मै सीमित भइरहेका छौँ । आर्थिक गतिविधि न्यून भई माग घट्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका छन् ।’

सिमेन्ट उद्योगलाई फस्टाउन सरकारले सकारात्मक कदम चाले व्यापार घाटा न्यूनीकरण हुने थापाको दाबी रहेको छ । ‘सिमेन्ट उद्योगलाई फस्टाउन सरकारको नजर पर्नु आवश्यक छ । तर, सरकारले सिमेन्ट उद्योगलाई खासै वास्ता गरेको देखिँदैन’ थापाले भने, – ‘भारतमा गुणस्तर चिन्ह प्राप्त गर्ने सकेको छैनौ । सरकारले त्यसका लागि कूटनीतिक पहल गर्नु पर्ने हो । निकासाका लागि सहज वातावरण दिनु पर्‍यो । राज्यका स–साना नीतिगत अवरोधले व्यवसायीलाई अल्झाइ रहेको छ । सिमेन्ट व्यवसायी वृद्धिका लागि उक्त बाधा अवरोध फुकुवा हुनुपर्छ ।’

आन्तरिक माग बढ्न नसक्दा निर्यात तिर व्यवसायी लागि परेको उनको भनाइ रहेको थियो । आन्तरिक खपत र माग दुवै ओरालो लागि रहेको छ । विकास निर्माणको काम हुन सकेको छैन । निर्माण व्यवसायीलाई पैसा समेत समयमा निकास हुन सकेको छैन । सोही कारण आन्तरिक माग वृद्धि हुन सकेका छैनौं । त्यसैले व्यवसायी निर्यात तिर झुम्मिएका छन् । अझै पनि हामीले तेस्रो मूलकसँग निर्यात सम्भव छैन थापाले भने ।

सिमेन्ट निर्यात सानो आकारमा भए पनि बढ्दो क्रममा रहेको एक व्यवसायीहरूले बताए । उनले भने, ‘सिमेन्ट भनेको ब्रान्डका आधारमा चल्ने हो, नेटवर्क र ब्रान्डिङ राम्रो नभई निर्यात बढ्दैन । अहिले हामी भारतमा हाम्रो ब्रान्डको प्रचार–प्रसार गराउने तथा नेटवर्क बनाउने काम गरिरहेका छौँ । नयाँ काम हो सेट अप हुन समय लाग्छ ’ । अहिल्यै सिमेन्ट निर्यात सन्तोषजनक रहेको उनले बताए ।

सरकारले विकास बजेट राम्ररी खर्च गर्न नसक्दा पनि सिमेन्टको खपत प्रभावित भइरहेको छ । कुल उत्पादन क्षमतामा ३५ प्रतिशत मात्र सिमेन्ट उत्पादन भइरहेको ब्यवसायीहरुको भनाइ रहेको छ । सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*