विदेश पलायन रोक्न गाउँमै बस्नेलाई स्वास्थ्य बीमा सुविधा
![](https://www.beemapost.com/wp-content/uploads/2024/01/health-insurance.jpg)
काठमाडौं । गाउँघर छाडेर सहर तथा विदेश जानेको संख्या बढेपछि यसलाई कम गर्न पोखरा–१३, कास्कीले गाउँमा बस्नेको स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।
शनिबार वडाले विजयपुर, खामघले, डिगाउँ र पोखरी स्वाँराका स्थानीयको स्वास्थ्य बिमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । सहरका नागरिकले स्वास्थ्य बीमा गराउदा गाउँका नागरिक यसबाट वञ्चित नहुन भनेर बीमा गराउन थालिएको बताए । उनले गाउँघरका ४० घरपरिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराएको बताए ।
बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् । वडाध्यक्ष बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन । गाउँका मान्छेको स्वास्थ्य बीमा गराएर वडाले सराहनीय काम गरेकामा उनले खुसी व्यक्त गरिन् ।
वडाले गाउँमा नै आएर निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएकोमा स्थानीयवासीले पनि खुसी व्यक्त गरेका छन् ।