सुदूरपश्चिममा प्रहरीले समात्यो ३१३ जुवाडे, ताससहित नगद बरामद

२१ चैत्र २०८०, बुधबार १७:०५

काठमाडौं । सुदूरपश्चिममा तीन सय १३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले जुवा खालबाटै पक्राउ गरेको हो । प्रहरीले नगद र ताससहित सो संख्यामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा प्रहरीले सबैभन्दा बढी कैलाली र कञ्चनपुरबाट जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जुवा खेलमा संलग्न तीन सय १३ जना पक्राउ परेको प्रहरीको अभिलेख छ ।

जुवाखेल विशेष गरि होटलमा बढी हुने गरेको पाइएको छ । जुवाखेल कैलालीको धनगढी, अत्तरिया, टीकापुर र कञ्चनपुरको महेन्द्रनगर, झलारी, वेलौरी, दोधारा–चाँदनी लगायत क्षेत्रमा बढी हुने गरेको छ ।

प्रहरीले पक्राउ गरेका जुवाडेहरुबाट ताससहित नगद समेत बरामद गरेको छ । साथै, जुवा खेल्ने र खेलाउने समुहलाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा समेत चलाउने गरेको छ । जुवा खेलेको विशेष सूचनाका आधारमा प्रहरीले संलग्नहरुलाई पक्राउ गर्ने गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*