बीमा र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, बैंक तथा माइक्रोफाइनान्समा किन गइरहेको छैन आँखा ?

२३ चैत्र २०८०, शुक्रबार १६:०७

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी १ अर्ब २५ करोड ७४ लाख ३० हजार कित्ता बराबरको ४ खर्ब १५ अर्ब ७४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको देखिएको हो ।

जुन गत आर्थिक वर्षको सोही तुलनाको अवधि भन्दा ३९.७६ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको आठ महिनामा ८० लाख ८३ हजार ५ हजार कित्ता बराबरको २ खर्ब ९७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

१३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । यस अवधिमा हाइड्रोपावर कम्पनीको ४५ करोड १९ लाख १२ हजार कित्ता बराबरको १ खर्ब २५ अर्ब ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरको २९ करोड १६ लाख ३३ हजार कित्ता बराबरको ८१ अर्ब ११ करोड ७४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको थियो ।

छिटो नाफा बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी हुँदा कारोबार वृद्धि भएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘अहिले दीर्घकालीन लगानीकर्ता बैङ्क तथा वित्तीय संस्था मै लगानी गरी रहेका छन् । तर छिटो नाफा लिएर बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी भएको देखिन्छ । सोही कारण समेत हाइड्रोपावरमा लगाव लगानीकर्ताको देखिन्छ’ ।

किन छ बीमामा आकर्षण ?

पछिल्लो समय बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण थपिँदै गएको छ । बीमा कम्पनी आम्दानी वृद्धि भइरहेको र लाभांश दिने क्षमता बिस्तार हुने आसले लगानीकर्ता बीमामा झुम्मिएका हुन् । बिमा प्राधिकरणले निर्जीवन बीमाको साढे दुई अर्ब, जीवन बीमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन समेत दिएको थियो । सोही अनुसार कम्पनीहरू अघि बढी रहेका छन् । सोही कारण समेत बीमा लगानीकर्ताको आकर्षण रहेको छ ।

बीमा गर्नुपर्छ भन्ने कुरा बिस्तारै सर्वसाधारणमा महसुस हुन थालेको छ । बीमाको दायरासमेत वृद्धि भइरहेको हुँदा लगानीकर्ता बीमा कम्पनीको शेयरमा झुम्मिएका हुन् । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बीमा कम्पनीको ६७ अर्ब ५६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीको ७ करोड ५९ लाख २४ हजार कित्ता बराबरको ४० अर्ब ९२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको भन्दा १८९।८६ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीको २ करोड १२ लाख ५१ हजार कित्ता बराबरको १४ अर्ब ११ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीको कारोबार समेत उच्च वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीको ३ लाख ९४ लाख ४२ हजार कित्ता बराबरको २६ अर्ब ६३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको १२ अर्ब ३७ करोड ८४ लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

बीमाको दायरा वृद्धि र व्यवसाय वृद्धिका लागि प्रतिस्पर्धाका कारण लगानीकर्ता आकर्षण बढेको शेयर विश्लेषक तथा लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘मर्जरपछि केही बीमा कम्पनी कम पनि भएका छन् । दायरा वृद्धि हुँदै जाँदा आम्दानी वृद्धि भइरहेको छ । बीमा भविष्य सुनौलो देख्दा लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । बीमा कम्पनीको पुँजी वृद्धिका योजनाले थप बीमामा नयाँ आयाम थपेको छ ।’

बैङ्क तथा वित्तीय संस्थाबाट डराउँदै लगानीकर्ता

शेयर बजारमा ठुलो हिस्सा रहेको बैङ्क तथा वित्तीय संस्थाको शेयर कारोबार खुम्चिँदै गएको छ । कम्पनीको खराब कर्जा सङ्कलन गर्न समस्या पैदा हुँदा शेयर मूल्य ओरालो लागेको हो । एक वर्ष अघि हुने कारोबार भन्दा अहिले खस्किँदै जाँदा लगानीकर्ता बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने डराइ रहेको अवस्था रहेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैङ्कको ५ करोड ९९ लाख ४ हजार कित्ता बराबरको २१ अर्ब ११ करोड ५७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । जुन गत आर्थिक वर्षको सोही तुलनामा १.७९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैङ्कको २१ अर्ब ५० करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यता, गत वर्षको तुलनामा विकास बैङ्कको शेयर कारोबार सामान्य बढे पनि आकर्षण भने आउन सकेको छैन । यस अवधिमा विकास बैङ्कको १७ करोड ३८ लाख ५३ हजार कित्ता बराबरको ४६ अर्ब ३६ करोड ७८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ५।७० प्रतिशतले बढेको हो ।

बैङ्क वित्त विरुद्ध चलेका सडक आन्दोलनले फाइनान्स कम्पनीको शेयर कारोबारमा समेत प्रभाव परेको छ । समीक्षा अवधिसम्ममा फाइनान्स समूहको ४ करोड २७ लाख १७ हजार कित्ता बराबरको १६ अर्ब ९५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । जुन गत आर्थिक वर्षको तुलनामा २१।२७ प्रतिशतले कम हो ।

किन डराउँदै छन् माइक्रोफाइनान्समा लगानी गर्ने लगानीकर्ता ?

पछिल्लो समय लघुवित्तको शेयर कारोबार समेत ओरालो लागि रहेको छ । कुनै समय लगानीकर्ताको पहिलो रोजाईको कम्पनी बनी रहेका लघुवित्त क्षेत्रको शेयर कारोबार निरन्तर ओरालो लागि रहेको छ । लघुवित्तको खराब कर्जा सङ्कलनमा भइरहेको कठिनाइ र कम्पनी खारेज विरुद्ध सडकमा चलेको आन्दोलनले माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण घटेको देखिन्छ ।

यता, नियामक निकाय नेपाल राष्ट्र बैङ्कले लाभांश वितरणमा गरेको कडाइले समेत माइक्रोफाइनान्सको कारोबारमा प्रत्यक्ष असर गरी रहेको छ । फागुन मसान्तसम्ममा माइक्रोफाइनान्सको २ करोड ५९ लाख ८८ हजार कित्ता बराबरको २० अर्ब ४६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ४३.९५ प्रतिशतले कम हो ।

तत्काल माइक्रोफाइनान्सको कारोबार घटेको भए पनि भविष्य भने उज्ज्वल रहेको लगानीकर्ता रौनियारले बताए । ‘पछिल्ला समय बजारमा चलेका केही नकारात्मक कुराले माइक्रोफाइनान्सको शेयर बढ्न दिएको छैन’ रौनियारले भने, ‘अरू सेक्टर भन्दा लघुवित्तको हरेक सूचक सकारात्मक नै छन् । यसमा लगानी गरे भविष्य सुनौलो रहेको छ ।’

होटेल तथा पर्यटनको अवस्था कस्तो ?

कोभिडले थला परेको होटेल तथा पर्यटन क्षेत्रले बिस्तारै लयमा फर्की रहेको छ । पछिल्ला केही महिना यता नेपालमा पर्यटनको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । वातावरणले भरिपूर्ण नेपालमा होटेल तथा पर्यटन क्षेत्रको लगानी समेत सुरक्षित रहेको लगानीकर्ताहरूका तर्क रहेका छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा होटेल तथा पर्यटन समूहको २ करोड ६१ लाख ६५ हजार कित्ता बराबरको १५ अर्ब २२ करोड ७७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ३७६.४४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा पर्यटन तथा होटेल क्षेत्रले ३ अर्ब १९ करोड ६१ लाख रुपैयाँको मात्र शेयर कारोबार गरेको थियो ।

कस्तो छ अन्य सेक्टर ?

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा म्युचुअल फण्ड समूहको १४ करोड ३० लाख २५ हजार इकाई बराबरको १ अर्ब २५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.८७ प्रतिशतले बढी हो ।

यस अवधिमा व्यापार समूहको २ अर्ब ६६ करोड रुपैयाँ, इन्भेस्टमेन्ट समूहको २५ अर्ब १२ करोड, निर्माण र प्रशोधन समूहको २६ अर्ब ५७ करोड रुपैयाँ, प्रमोटर शेयरको ९ अर्ब ५४ करोड रुपैयाँ, डिबेञ्चरको १ अर्ब १२ करोड रुपैयाँ र अन्य समूहको २६ अर्ब २९ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*