आज घोडेजात्रा, काठमाडौं उपत्यकामा बिदा

२६ चैत्र २०८०, सोमबार ०७:४६

काठमाडौं । प्रत्येक चैत्र कृष्णपक्षको औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । घोडेजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा नामक राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालीकाहरु खाइदिने गरेपछि उपत्यकावासीले त्यस राक्षसलाई घोडाको टापले कुल्चाएर मारेको र त्यसैको विजय उत्सवका रुपमा यो पर्व मनाउने गरिएको किंवदन्ती पाइन्छ ।

प्रत्येक वर्षझै यस दिन दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने र यसो नगर्दा राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मचाउन सक्ने बुढापाकाहरुको भनाई रहेको छ ।

घोडे जात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छन् भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*