भिषण युद्धको संघारमा इरान र इजरायल, के होला विश्व अर्थतन्त्र ?

१ बैशाख २०८१, शनिबार ०७:३५

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरान र इजरायलका बीचमा छिट्टै भिषण संघर्ष हुँदैछ । इजरायलीहरु अहिले चरम त्रास र आतंकका बीचमा बाँचिरहेका छन् कि इरानले कतिबेला कहाँ र कसरी आक्रमण गर्ने हो कुनै पत्तो छैन ।

इजरायलमाथि भिषण युद्धको बादल मडारिरहँदा विश्वका कैयौं देशहरुले भने त्यहाँ रहेका आफना नागरिकहरुलाई देश छोड्न आदेश दिइरहेका छन् । गत अप्रिल १ मा सिरियाको दमास्कसस्थित इरानी दुताबासमा आक्रमण गरेको भन्दै इरानले इजरायली भूमिमा नै आक्रमण गरेरै छोड्ने दृढता दोहोर्याउँदै आएको छ ।

मध्यपूर्वमा अन्तिम संघारमा रहेको युद्धमा अमेरिकी राष्ट्रपति जोई बाइडेनले कडा चेतावनी दिँदै युद्धमा नजान आग्रह गरेका छन् । साथै अमेरिकी राष्ट्रपति बाइडेनले आगामी २४ घण्टाभित्रैमा इजरायलमाथि आक्रमण हुनसक्ने सम्भावनालाई स्वीकार गरेका छन् ।

इरानले अन्तर्राष्ट्रिय कानुन र भियना अभिसन्धीका विरुद्ध गएर इजरायलले आफ्नो सिरियामा रहेको दुताबासमा आक्रमण गरेको भन्दै उसकै भूमिमा आक्रमण गरेर जवाफ दिने कडा प्रतिक्रिया जनाउँदै आएको छ ।

विश्वका दुई आणविक शक्ति सम्पन्न राष्ट्र इरान र इजरायलका बीचमा हुन लागेको युद्ध अब रोकिन अवसम्भावी जस्तै देखिन पुगेको छ । इजरायलमा यतिबेला यस्तो तनाव बढेको छ कि प्रत्येक घण्टाका त्यहाँको जनताको मनमा ढुकढुक गरिरहेको छ । इजरायली सञ्चार माध्यम टाइम्स अफ इजरायलका अनुसार अबको केही घण्टाभित्रैमा इजरायलमाथि भिषण हमला हुने समाचार प्रकाशित गरिएको छ । जसबाट इजरायलमा रहेका विदेशी नागरिकहरु त्राहिमाम हुन पुगेका छन् । उक्त सञ्चार माध्यममा अनुसार इजरायलमाथि ड्रोन र मिसाइल हमलाहरु हुने प्रक्षेपण गरिएको छ । विश्वकै अत्याधुनिक ड्रोन बनाउने क्षमता राख्ने इरानले इजरायलमाथि कस्तो हमला गर्दा त्यो भने प्रतिक्षाकै विषय बनेको छ । तर, आक्रमण नगर्दैै इजरायली जनतालाई मानसिक रुपमा आक्रमण गर्न भने सफल भइसकेको छ ।

बीमापोष्टको सम्पर्कमा इजरायलस्थित एक नेपाली कामदारले इरानको हमलाको त्रासले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘इरानसँगको युद्धको त्रासले सबैतिर फैलिएको छ, के हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।’

जर्मनीको लुप्थान्सा एयरले इजरायलको उडान स्थगित गरेको छ भने आजदेखि अष्ट्रेलियन एयरले समेत आगामी छ दिनका लागि उडान स्थगित गर्ने निर्णय गरेको छ । जर्मनी, भारत, अमेरिकाले आफ्ना इजरायलमा यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।

इरान र इजरायलबीचको युद्धका कारण विश्व अर्थतन्त्रमा गम्भिर असर पर्ने भन्दै चर्चा र बहस सुरु भइरहेको छ । नेपालमा लगानी सम्मेलन गर्ने अन्तिम अवस्थामा पुग्दैगर्दा मध्यपूर्व युद्धको अन्तिम संघारमा पुगेको छ । इरान र इजरायलका बीचमा युद्ध भइहालेको खण्डमा अमेरिकाले इजरायलको पक्षमा उभिने घोषणा गरेको छ । त्यस्तै अवस्थामा कतार, दुबई, कुवेत क्षेत्र ठूलो संख्यामा तैनाथ गरिएका अमेरिकी सेना युद्धको पक्षमा उभिएमा सो क्षेत्रमा समेत युद्ध फैलिने सम्भावना हुनेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उचार चढाव आएको छ भने शेयर बजार समेत प्रभावित बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*