आगामी आर्थिक वर्षमा कर्मचारीको तलब भत्ता नबढ्ने

१५ जेष्ठ २०८१, मंगलवार १३:२४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मार्फत् कर्मचारीको तलब भत्ता नबढाउने संकेत देखिएको छ। अर्थमन्त्री वर्षमान पुनले आज ३ बजे सार्वजनिक बजेटमार्फत् कर्मचारीको तलब भत्ता नबढाउने गरेको बुझिएको छ ।

सरकारले दुई वर्षअघि अर्थात् २०७९ मा कर्मचारीको तलब बढाएको थियो । हरेक तीन वर्षमा कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा राष्ट्रिय योजना आयोगले तयार पारेको सीमाभन्दा केही बढीको तयार पारेको स्रोतले जानकारी दिएको छ ।

सरकारले यसअघि आर्थिक वर्ष ०७९/८० को बजेटमा तलब भत्तामा वृद्धि गरेको थियो । त्यसबेला सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको थियो ।

निजामती सेवा ऐन २०४९ को दफा २७ मा नेपाल सरकारले गठन गरेको तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नेछ भन्ने व्यवस्था गरेको छ ।

यसरी तलब भत्ता पुनरावलोकन गर्दा राजस्वको वृद्धिदर, कुल दरबन्दी सङ्ख्या तथा विगत तीन वर्षको मूल्यसूचीका आधारमा प्रदान गरिएको महँगी भत्तासमेतलाई आधार बनाइने पनि ऐनमा उल्लेख गरिएको छ ।

हाल निजामती कर्मचारीतर्फ सबैभन्दा बढी तलब मुख्यसचिवको सुरुको तलब स्केल ७७ हजार २११ छ भने सबैभन्दा कम कार्यालय सहयोगी प्रथम स्तरको २४ हजार ७ सय २ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*