ठगी धन्दा चलाइरहेको सिप्रदीको बढ्यो व्यवसाय, पुरानो गाडी बेचेको काण्डमाथि कहिले होला कारबाही ?

दिपक विष्ट
१७ जेष्ठ २०८१, बिहीबार १७:४४

काठमाडौँ । नेपाली अटो बजारमा ठगी धन्दा चलाउँदै आएको सिप्रदी ट्रेडिङको सहायक कम्पनी सिप्रदी हायर पर्चेजको व्यापारमा सुधार देखिएको छ । नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौँ महानगरपालिकाले गरेको थियो । सोहि सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी सिप्रदी हायर पर्चेजले ग्राहकलाई झुक्काइ आम्दानी भने वृद्धि गरेको हो ।

कम्पनीले सन् २०२३ मा ५२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ । जुन गत सन् २०२२ को तुलनामा ६८८ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा भने ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा मात्र कम्पनीले ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ । एक वर्षको अन्तरमा कम्पनीको व्यापारमा सुधारदेखिए पनि अघिल्ला वर्षको तुलनामा कम्पनीको आम्दानी ओरालो लागेको छ । कम्पनीले सन् २०२० मा ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१४ मा स्थापित सिप्रदी हायर पर्चेजले टाटाका गाडी खरिद गर्दा फाइनान्सिङको काम गर्छ । यो सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । जो नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता पनि हो । तर, पछिल्लो समय कम्पनीको आम्दानी निरन्तर खुम्चिँदै गएको हो । बजारमा टाटाको गाडी बिक्री हुन छोडे पनि ठगी धन्दा चलाउँदै कम्पनीले आफ्नो व्यापार बढाउन थालेको देखिन्छ । कम्पनीले गरेका यस्ता ठगिले टाटाका गाडी खरिद गर्ने ग्राहक भने डराएका छन् ।

काठमाडौँ महानगरपालिकाले सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो भएको खुलेको थियो । हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि काठमाडौँ महानगरपालिकाले २०८० वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो । यसमा सिप्रदी ट्रेडिङ प्रा। लि। सफल बोलपत्रदाताको रूपमा छनोट भयो । यसबमोजिमका सवारी साधनहरू गएको माघ १७ गते महानगरपालिकालाई प्राप्त भएका हुन् ।

बोलपत्रसम्बन्धी कागजातको स्पेशिफिकेसनमा सन् २०२२ मा उत्पादन भएको उल्लेख छ । ब्लुबुकमा सबै सवारी साधनको उत्पादन मिति २०२२ लेखिएको छ तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको छ । २ वटा सवारी साधनको च्यासिसमा मात्र उत्पादन मिति २०२२ छ । यसबाट झुकाएर सामान उपलब्ध गराउन खोजेको स्पष्ट हुन्छ । प्रवक्ता नवीन मानन्धरले बताए । उपभोक्ताहरू कसरी ठगिन सक्छन्, सचेत गराउन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस सम्बन्धी जानकारी दिइएको हो ।

सरकारी निकायमा समेत खुलियाम ठगी धन्दा चलाइ रहेको सिप्रदीले अन्य ग्राहकहरूलाई कति झुक्काएको छ यो एक प्रश्न खडा भएको छ । सिप्रदीले बिक्री गर्ने अधिकांश सवारीमा गुणस्तर जाँच गर्नु पर्नेछ । सिप्रदीबाट गाडी खरिद गर्दा अब आम नागरिकले एक पटक सोच्नु पर्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा युवा नेतृत्व बालेन शाह छन् । उनको नेतृत्वको महानगर सरकारले सम्पूर्ण काम कारबाही चुस्त दुरुस्त बनाइ रहेका छन् । नेपालको केन्द्रमा रहेको महानगरलाई यसरी झुक्काउन सक्ने सिप्रदीले अन्य ठाउँमा कति अनियमितता गरेको छ त्यो चेकजाँच हुनुपर्ने देखिन्छ ।

कालोसूचीमा पर्दै सिप्रदी

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो भेटिएपछि ३ वर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता टे«डिङ्ले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता मानन्धरले कालोसूचीमा राख्न सिफारिस गरिएको जानकारी दिए ।

बोलपत्रदाताले खरिद सम्झौताको सर्त र बन्देज परिपालन गर्नुपर्छ । यो कानुनी दायित्व हो । सम्झौता विपरीत कार्य भएमा त्यसको जबाफदेहिता बोलपत्रदाताको नै रहन्छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) को खण्ड (ख) अनुसार तथ्य बङ्ग्याएर वा झुकाएर सार्वजनिक खरिद प्रक्रियामा कार्य गर्न नहुने व्यवस्था छ । यस्तो कार्य गरेमा सोही ऐनको दफा ६३ ९१० (ग) बमोजिम बोलपत्रदातालाई ३ वर्ष सम्म कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्न सक्ने व्यवस्था छ ।

सिप्रदीलाई कालो सूचीमा राख्ने कागजात आवश्यक जाँच गरी रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयकी कानुन अधिकृत संगीता महर्जनले बताइन् । उनले भनिन्, ‘महानगरपालिकाबाट सिप्रदीलाई कालो सूचीमा राख्नका लागि आवश्यक कागजात आइसकेको छ । हामीले कागजात माथि अध्ययन अनुसन्धान गरी रहेका छौँ । अब भोलि या पर्सिसम्म सबै काम सकिन्छ । सो पश्चात् मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’

काठमाडौँ महानगरपालिकाले सिप्रदीलाई थप कारबाही लागि प्रचलित कानुन बमोजिम सम्बन्धित निकायलाई पत्र लेखि पठाइसकेको प्रवक्ता नवीन मानन्धरले बताए । उनले भने, ‘महानगरपालिकाले प्रचलित कानुनबमोजिम जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने, वाणिज्य विभाग र वातावरण विभागमा कारबाही प्रक्रियाका लागि पठाउने छौँ । व्यवसाय दर्ता खारेज गर्नेसम्मको कारबाही लागि निकायहरूमा लेखी पठाएको छौँ ।’

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ हुन् । हाल कम्पनीका अध्यक्ष सिद्धार्थ एसजेबी राणा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*