बीमितको पहिलो रोजाईमा ‘सावधिक जीवन बीमा’, १० महिनामा झण्डै आधा खर्बको व्यापार

राजन कठायत
१७ जेष्ठ २०८१, बिहीबार १७:२६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमा शुल्क ‘सावधिक जीवन बीमा’ योजनाबाट संकलन गरेको पाइएको छ । आम नागरिकहरुको पहिलो रोजाईका रुपमा उक्त बीमा पोलिसी पर्दै आएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमालेखबाट करिव आधा खर्बको व्यापार गरेका छन् । सो पोलिसीलाई बीमितहरुले सर्वाधिक खरिद गर्दै आएका छन् ।

चालु आर्थिक वर्षको बैशाखमा जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा योजनाबाट ४७ अर्ब ७० करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जसमा कम्पनीहरुले बागमती प्रदेशमा उक्त बीमा पोलिसीबाट २३ अर्ब ८५ करोड रुपैयाँसहित सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, बीमा शुल्क आर्जनको आधारमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना दोस्रो स्थानमा रहेको छ । कम्पनीहरुले उक्त पोलिसी अन्तर्गत विभिन्न पोलिसी मार्फत २७ अर्ब ३९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । साथै, कम्पनीहरुले बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा पोलिसीबाट १८ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको वित्तीय विवरणबाट

कम्पनीहरुको अधिकांश व्यवसाय बागमति प्रदेशमा निर्भर रहेको छ । देशको राजधानी र नागरिकहरुको चाप बढी भएका कारण जीवन बीमा कम्पनीहरुको व्यवसाय यस प्रदेशमा निर्भर रहेको पाएको छ ।

रुपान्तरित बीमा पोलिसीबाट १६ अर्ब १८ करोड रुपैयाँ, बैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसीबाट दुई अर्ब ५८ करोड रुपैयाँ, आजीवन बीमा पोलिसीबाट तीन अर्ब ४३ करोड रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमा पोलिसीबाट एक अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा शुल्क जीवन बीमा कम्पनीहरुले आर्जन गरेका छन् ।

यस अवधिमा नयाँ लघुबीमा कम्पनीहरुले कारोबार थालेपनि जीवन बीमा कम्पनीहरुले उक्त पोलिसीबाट दुई अर्ब ३३ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।

यसका साथै, चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले म्यादी जीवन बीमा पोलिसीबाट सबैभन्दा कम बीमा शुल्क आर्जन गरेका छन् । उक्त पोलिसीबाट कम्पनीहरुले एक अर्ब २६ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*