स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

१८ जेष्ठ २०८१, शुक्रबार १७:२५

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्र्याएका छन् ।

भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने धेयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताए ।

साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नुपरिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने उल्लेख गरे। उनले भने, “चाँडै उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपभोग सम्बन्धी नीति र कार्ययोजना ल्याउँदै छ, यो नीति लागू भएपछि जागरण अभियान सञ्चालन हुनेछ, तत्पश्चात स्वदेशी वस्तुको उत्पादन बढाउनु पनि अपरिहार्य छ, सरकारले उत्पादनकर्ता र उपभोगकर्ता दुवैलाई विविध सहुलियत गर्छ ।”

साथै साना तथा मझौला उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कानुन सुधारका काम मन्त्रालयले अघि बढाइसकेको उनले जानकारी गराए। मन्त्री भण्डारीले भने, “सरकारबाट प्रवद्र्धनका प्रयास भइरहेका छन्, तीनै तहका सरकारको समन्वयमा उद्यमशिलता प्रवद्र्धनका लागि पनि प्रयास भइरहेको छ, न्यूनतम एउटा पालिकामा १५–२० वटा उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।”

मन्त्री भण्डारीले विदेशिएका युवालाई उद्यमशिलतासँग जोड्न सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गराए। उनले उद्यमशिलतासित जोडिएका विभिन्न तालिम तथा सीप हस्तान्तरणका कार्यक्रम एकीकृत गराएर गर्न उद्योग मन्त्रालय लागिपरेको बताए ।

साथै उनले सरकारले छिट्टै सरकारी निकायबाट स्वदेशी उत्पादनको उपभोग गर्ने कार्यक्रम ल्याउने जानकारी गराए। उनले उद्योग मन्त्रालयमा स्वदेशी कलम तथा कागजको प्रयोग गर्न सुरु गरिएको र चाँडै अन्य वस्तुको प्रयोग पनि स्वदेशी नै गर्दै जाने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*