श्रमाधान रोजगार मेलाको समुद्घाटन समारोह भोलि, तयारी भव्य

१८ जेष्ठ २०८१, शुक्रबार १८:५८

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान रोजगार मेला’को भव्य तयारी भएको छ ।विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने समुद्घाटन समारोहलाई भव्य बनाउन मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले साजसज्जादेखि युवाको सहभागिता बढाउन विशेष तयारी गरेको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, विराटनगर महानगरपालि प्रमुखलगायतका व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका छन् ।
नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको श्रममन्त्री अर्यालले जानकारी दिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते शुभारम्भ भएर बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ ।
श्रम मन्त्रालयका उपसचिव एवं मेलाको कोशी प्रदेश संयोजक सुशील आचार्यले तयारीमा कुनै त्रुटी नहुने गरी काम गरिएको बताए । सरकारले उच्च प्राथमिकताका साथ आयोजना गरेको मेलालाई ‘बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात’का रुपमा लिइएको उनले जानकारी गराए ।
‘अबको १५ वर्षपछि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ,’ उनले भने, ‘मेलापछि मन्त्रालयले रोजगार बैंक बनाउने, जसमा रोजगारीका अवसर र प्रकृतिदेखि बेरोजगारको तथ्यांक र क्षमताबारे स्पष्ट उल्लेख हुन्छ, अहिले त्यही हिसाबले तयारी गरिरहेका छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले मेलालाई भव्य बनाउन विशेष तयारी गरिएको बताए । ‘सरकारले उच्च प्राथमिकता दिएर आयोजना गरेको रोजगार मेलाको समुद्घाटन समारोहलाई विशेष बनाउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘मेलामा युवाको पनि उल्लेख्य सहभागिता रहने हाम्रो विश्वास छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०, सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र ९सामी० र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना ९रेमी०ले पनि मेलामा विशेष सहयोग गरेका छन् ।
मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*