यस बर्ष १६ लाख पर्यटक भित्र्याउने गरी सरकार लागिपरेको छः मन्त्री तामाङ

२० जेष्ठ २०८१, आईतवार १४:५२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । आइतबार काठमाडौँमा फोटो प्रदर्शनी गर्दै मन्त्री तामाङले उक्त कुरा बताएका हुन् ।

“यसअघि कोभिडका कारण पर्यटक आउने सङ्ख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनु भएको थियो, सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ” मन्त्री तामाङ्ले भने ।

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको सङ्ख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाई छ । “कतिपय तस्विरहरु आफैंले भोगेका तस्विर राखिएका छन्, कतिपय पुराना इतिहास झल्काउने खालका तस्विर देखें, यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ” उनले अगाडी, “गोरखापत्रको यो काम प्रशंसनीय छ, पुर्खाका पालाका तस्विर देख्न पाउँदा खुशी लाग्यो ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*