नेपालमा लगानी गर्न बेलायती राजदूतसँग महासंघ अध्यक्षको आग्रह

२० जेष्ठ २०८१, आईतवार १६:२६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराएका हुन् ।

उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे । नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पु¥याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए ।

ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी गराए ।

ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराए । उनले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्,उनको जोड थियो ।

भेटवार्ताको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारको बारेमा आफ्नो धारणा राखे । साथै संघका लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसर बारे जानकारी गराएका थिए ।

भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरे । उनले दोहोरो करमुक्ति सम्झौता बारे पनि चासो राख्नु भएको थियो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गरे । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि वहाँले राजदूत फेनलाई अनुरोध गरे । सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपालले निर्यातमा ड्युटी फ्री सुविधा गुमाउने, अवस्थीले बताए । त्यसैले विकासोन्मुख राष्ट्र व्यापार योजना नेपालका लागि महत्वपूर्ण हुने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*