इन्धन तस्करीका अभियुक्त श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाउन ओलीको दवाव

२७ जेष्ठ २०८१, आईतवार १५:१७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय समयमा अनावश्यक र विवादित व्यक्तिलाई बोकेर हिड्दा सिंगो पार्टी मात्रै होइन, आफू स्वयम्ले विभिन्न ठाउँमा उभिएर जवाफ दिनु परेको इतिहास छ ।अहिले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षअघि देखि इन्धन तस्करीमा संलग्न सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाउन चट्टानी अडान लिइरहेका छन् । ओलीकै अडानका कारण बोर्डले विगत तीन महिनादेखि अध्यक्ष पाउन सकेको छैन ।

अर्थमन्त्रालयद्धारा गठित धितोपत्र बोर्डको अध्यक्ष पदका लागि पाँच जनाको सर्टलिष्ट गत चैत्र २५ गते प्रकाशित गरेको थियो ।चिरञ्जीवी चापागाँई, मुक्ति श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारीसँगै उक्त सूचिको पुछारमा सन्तोषनारायण श्रेष्ठको पनि नाम छ ।चर्चामै नभएका र योग्यता समेत खासै नपुग्ने सन्तोष नारायण श्रेष्ठको नाम पाँच जनाको सूचिमा परेसँगै चारैतिर आश्चर्य छायो ।

अनि सत्ता गठबन्धनका मुख्य दल एमाले अध्यक्ष केपी ओलीले उनै सन्तोष नारायण श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाउन चर्को दवाव दिइरहेका छन् ।तर, खोजविनाको क्रममा केपी ओलीले अध्यक्ष बनाउन चाहेका व्यक्ति श्रेष्ठ लामो समयदेखि इन्धन ढुवानी व्यवसायमा संलग्न व्यक्ति भएको तथ्य खुलेको छ ।उनको एक्सप्रेस परिवहन सेवा कम्पनी छ । श्रेष्ठ पछिल्लो समय इन्धन तस्करीमा संलग्न हुँदै आएको आरोप लागेको छ । बुटवलस्थित सिद्धार्थपथमा रहेको श्रेष्ठको एक्सप्रेस परिवहन सेवा प्रालिको नाममा २५ वटा ट्याङ्करले इन्धन ढुवानी गर्दै आएको छ ।

कागजमा सो कम्पनीका मुख्य लगानीकर्ता चोपनारायण श्रेष्ठ र उनका छोरा सन्तोषनारायण श्रेष्ठ हुन् । चोपनारायण श्रेष्ठ ढुवानी व्यवसायी संघमा विभिन्न नेतृत्वमा रहेर काम गरेकोले छोरा सन्तोषनारायण श्रेष्ठले नै एक्सप्रेस परिवहन सेवाको काम हेर्दै आएका छन् ।सन्तोषका बाबु चोपनारायण श्रेष्ठले नेपाल आयल निगमको भैरहवास्थित भलवारीबाट चोरी भएको इन्धन बिक्री गरेका थिए ।

नेपालमा सस्तो र भारतमा महंगो हुँदा नेपालबाट भारततर्फ लैजाने तयार भारतमा सस्तो र नेपालमा महंगो हुँदा भारतबाट नेपालतर्फ इन्धन ल्याएर बिक्री गर्दै आएको आरोप श्रेष्ठ परिवारमाथि लाग्दै आएको छ ।

श्रेष्ठको एक्सप्रेस परिवहनका ट्याङ्करहरु नेपाल प्रहरीले चोरीको इन्धनसहित रंगेहात पक्राउ गरेको थियो । नेपाल आयल निगमको भलवारीस्थित पश्चिमाञ्चल डिपोमा ल्याइने पेट्रोलियम पदार्थ निगममा नपुर्याई बीच बाटोमै रुपन्देहीको पड्सरी र मधौलियामा निर्मित भूमिगत पम्पमा पेट्रोलियम पदार्थ चोरी गर्ने क्रममा २०७१ वैशाख १६ गते १९ वटा ट्याङ्करहरु पक्राउ गरेको थियो ।
उक्त ट्याङ्करहरु अधिकांश चोपलाल श्रेष्ठ (सन्तोष नारायणका बाबु) का थिए । रुपन्देही प्रहरी कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेर १९ वटा ट्याङ्कर नियन्त्रणमा लिएर छानविन गर्दा करोडौं रुपैयाँको इन्धन चोरी भएको पुष्टि भएको थियो ।

यद्यपि सो मुद्दामा रुपन्देही जिल्ला अदालतका तत्कालिन न्यायाधिश बालचन्द्र शर्माले घुस सेटिङमा चोरीमा संलग्न चोरहरुलाई सफाई दिने फैसला गदिएका थिए ।

रुपन्देही प्रहरीको रेकर्डमा पेट्रोलियम पदार्थ चोरीको अभियोग लागेकाहरु तत्कालीन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ (सन्तोष नारायण श्रेष्ठका बाबु), पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधन र वरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे, ट्याङ्कर धनीहरू दया शंकर कसौधन, प्रेमराज गैरे, विनोद उप्रेती, पशुपतिनाथ कसौधन, लप्पु चौधरी, विकाश क्षेत्री, रामचन्द्र अधिकारी, श्रवणकुमार श्रेष्ठ, रुद्र शर्मा, प्रीति जयसवाल, पङ्की कलवार जयसवाल र पप्पुकुमार कसौधन रहेका छन् । उनीहरुका विरुद्धमा २०७१ साल बैशाख १९ गते पक्राउ पुर्जी समेत जारी भएको देखिएको छ ।

त्यसो त हाल सेबोनको अध्यक्ष बन्ने लाइनमा रहेको श्रेष्ठको कम्पनीले अहिले पनि इन्धन तस्करी धन्दा जारी नै राखेको छ । २०८० बैशाख वैशाख ८ गते सन्तोष नारायण श्रेष्ठकै एक्सप्रेस परिवहन सेवा प्रा.लि.को नाममा दर्ता रहेको लु १ ख ४८३९ नं.को ट्याङ्करमा मापदण्ड भन्दा ३ हजार ३ सय ४८ लिटर पेट्रोल बढी इन्धन भारतबाट तस्करी गरेर नेपाल ल्याएको पाइएको थियो ।

हाल भारतमा इन्धन सस्तो भएकोले श्रेष्ठको कम्पनीले भारतबाट चोरीको इन्धन नेपाल ल्याएर महंगो मूल्यमा बिक्री गर्ने धन्दा चलाउँदै आएको रुपन्देही प्रहरी, आयल निगम र भन्सार कार्यालयको निष्कर्ष छ । भैरहवा भन्सार कार्यालयले गोप्य सूचनाको आधारमा २०८० वैशाख ८ गते भन्सार बिन्दुमा आएका ट्याङ्रलाई भन्सार कार्यालयले चेक जाँच गर्दा भन्सार छल्ने गरी मापदण्ड विपरीत तेल भेटिएको थियो ।

लु १ ख ६६२७, लु २ ख ४८३९ र ना ७ ख ८११ नम्बरका ट्याङ्करलाई चेकजाँच गर्दा लु १ ख ४८३९ नं.को ट्याङ्करमा मापदण्ड भन्दा ३ हजार ३ सय ४८ लिटर पेट्रोल बढी ल्याएको भेटिएको थियो ।

राजनीतिक पहुँच र पावरको भरमा चोपनारायण श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठलाई पटक पटक कारवाहीबाट उन्मुक्ति दिँदै आएको पाइएको छ । श्रेष्ठको मुख्य संरक्षक एमालेका नेता विष्णु पौडेल रहेको र सोही कारण केपी ओलीले समेत संरक्षण मात्रै नगरी यस पटक सेबोनको अध्यक्ष बनाउन महरित्ते गरेर लागि परेका छन् । इन्धन तस्करी गरेर करोडौं सम्पत्ति आर्जन गरेका श्रेष्ठले सोही सम्पत्तिलाई घुसको रुपमा प्रयोग गर्दैै सेबोनको अध्यक्ष पद हत्याउने दाउमा अर्थमन्त्री वर्षमान पुनको भूमिका कस्तो होला ? हेर्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*