लघुवित्तको खुद नाफा ४ प्रतिशतले बढ्यो, १६ कम्पनी ऋणात्मक हुँदा अन्य कुनले कति कमाए ? (तथ्यांकसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८० करोडबढी रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । संस्थाहरुले आफ्ना कर्जालाई सही तरिकाले प्रयोग गरी ब्याज आम्दानी बढाएपछि संस्थाहरुले मुनाफा बढाएका हुन् ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ५० वटा लघुवित्तहरुले ८० करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको मुनाफा ४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा लघुवित्त संस्थाहरुले ७७ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा सञ्चालित लघुवित्तहरुमध्ये १८ वटा संस्थाको मुनाफा बढेको छ भने ९ वटा संस्थाको मुनाफा घटेको छ । साथै, १६ वटा लघुवित्त संस्थाहरुको मुनाफा ऋणात्मक रहेको छ ।
यस अवधिमा साना किसान लघुवित्तले सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ भने हिमालयन लघुवित्तले सर्वाधिक प्रतिशतले मुनाफा बृद्धि गरेको छ ।
समीक्षा अवधिमा साना किसान विकास लघुवित्तको खुद नाफा ३२ करोड १८ लाख रुपैयाँ, छिमेक लघुवित्तको २३ करोड ७४ लाख रुपैयाँ, नेशनल लघुवित्तको १० करोड ४७ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको नौ करोड ९३ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्त आठ करोड ७९ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको छ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन् गरेका छन् ।
यस अवधिमा जनउत्थान सामुदायिक, समाज लघुवित्त, मानुषी, सीवाइसी नेपाल, धौलागीरी, विन नेपाल, निर्धन उत्थान, सामुदायिक, अभियान, विजय, नेरुडे मिर्मिरे लघुवित्त लगायतका संस्थाहरुको मुनाफा उच्च अंकले ऋणात्मक रहेका छन् ।
बृद्धिदरका आधारमा
बृद्धिदरका आधारमा हिमालयन लघुवित्त अग्रस्थानमा रहेको छ । कम्पनीको मुनाफा गत आवको तुलनामा ११४३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै गुराँस लघुवित्तको मुनाफा ८९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ७४८ प्रतिशतले मुनाफा बृद्धि भएको छ ।