लक्ष्मी लघुवित्तले १५औं वर्षमा प्रवेश, सेवाको विस्तार र नवीन प्रविधिमा प्रतिबद्धता
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्नो प्रगति र आगामी लक्ष्यबारे प्रतिबद्धता व्यक्त गर्दै ग्राहक, शेयरधनी, नियामक निकाय, मातृ संस्था लक्ष्मी सनराइज बैंक र अन्य सबै सहयोगी पक्षप्रति आभार प्रकट गरेको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था अन्तर्गत अनुमति प्राप्त लक्ष्मी लघुवित्तले पहिलो पटक वाणिज्य बैंकको सहायक संस्थाका रूपमा माइक्रोफाइनान्स सेवा प्रदान गर्ने इतिहास रचेको हो। २०६७ मंसिर १४ मा स्थापना भएको यस संस्थाले २०६८ फागुन २३ मा अनुमति प्राप्त गरी २०६९ जेठ २२ मा नुवाकोटबाट आफ्नो पहिलो शाखामार्फत सेवा सुरु गरेको थियो।
सेवाको दायरा र डिजिटल प्रणालीमा अग्रणीता
लक्ष्मी लघुवित्तले गरिबी न्यूनीकरण र वित्तीय पहुँच अभिवृद्धि गर्दै कम आय भएका व्यक्तिहरूलाई लक्षित गरी सेवा पुर्याउँदै आएको छ। डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकतामा राख्दै संस्थाले विभिन्न नवीन प्रविधिहरूलाई अपनाएको छ।
-२०२१ जुन १ मा लक्ष्मी लघुवित्त–स्मार्ट एप सार्वजनिक गरियो।
-२०२१ सेप्टेम्बर १९ मा ट्याब्लेट बैंकिङ लागू गरियो।
-२०२२ अप्रिल ३ मा Connect IPS सँगको एकीकरण गर्दै पहिलो पटक माइक्रोफाइनान्स उद्योगमा नयाँ सुरुवात गरियो।
-२०२२ जुलाई २० मा मोबाइल पैसा एप सार्वजनिक गर्दै डिजिटल सेवामा नयाँ आयाम थपियो।
-नेपालमा पहिलो पटक केन्द्रिय कोर बैंकिङ सिस्टम र हाइपर कन्भर्ज्ड इन्फ्रास्ट्रक्चर जस्ता अत्याधुनिक प्रणाली सञ्चालनमा ल्याइएको छ।
ग्राहकको वित्तीय सक्षमता र जोखिम व्यवस्थापनका लागि लक्ष्मी लघुवित्तले माइक्रो इन्स्योरेन्स सेवाहरू पनि सञ्चालन गर्दै आएको छ। जीवन बीमा र पशुधन बीमा जस्ता सेवाहरू मार्फत न्यून आय भएका परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस क्षेत्रमा थप सुधार गर्ने योजना सार्वजनिक गरेको छ।
आर्थिक पहुँच र सामाजिक प्रभाव
संस्थाले नगद प्रवाहमा आधारित कर्जा भुक्तानी प्रणाली, संयुक्त दायित्व समूह मोडल, र शाखाविहीन बैंकिङ जस्ता नवप्रविधिहरू लागू गरी वित्तीय सेवा नपुगेका तथा कम सेवा पुगेका क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै आएको छ।
संस्थाले ग्राहकहरूको सेवालाई अझ सरल र गुणस्तरीय बनाउने लक्ष्यका साथ आगामी दिनमा प्रविधिको थप प्रयोग, गरिबी न्यूनिकरण, र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने बताएको छ।
लक्ष्मी लघुवित्तले आफ्नो सुरुवातदेखि हालसम्मका उपलब्धिहरूलाई कायम राख्दै आगामी दिनहरूमा थप सुधार र नवप्रवर्तनमार्फत वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।