आशा लघुवित्तको २० लाख कित्ता शेयरको लकइन फागुनबाट सकिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लक इन अवधि आउदो फागुन ११ गते सकिने भएको छ। हाल कम्पनीको संस्थापकतर्फको १९ लाख ९९ हजार ३७५ कित्ता शेयर र कर्मचारीतर्फको १४ हजार ८५२.५० कित्ता शेयर (बोनस शेयर समेत) लक इनमा रहेको छ।
साबिकको राष्ट्र उत्थान (हाल आशा) लघुवित्तले २०७८ फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कास गरी १२ गते बाँडफाँड गरेको थियो। यसरी बाँडफाँडको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
लकइन अवधि सकिएपछि कर्मचारी र संस्थापकले होल्ड गरेको शेयर कारोबार गर्न सक्नेछन्। यद्यपि कम्पनीको सञ्चालक सदस्य र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाइने बताएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।