६ महिनामा ११ खर्बको शेयर कारोबारः हाइड्रोपावर र फाइनान्समा आकर्षण, बैंक र लघुवित्त किन सुस्त ?

२२ माघ २०८१, मंगलवार १३:०२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा ११ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा २ अर्ब ५६ करोड ९३ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ११ खर्ब ९ अर्ब १९ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

उक्त कारोबार गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३२.०३ प्रतिशतले बढी हो । गत आवको पुष समान्तसम्ममा २ खर्ब ५६ अर्ब ७३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यसअवधिमा सर्वाधिक शेयर कारोबार हुने समूहमा हाइड्रोपावर र फाइनान्स सेक्टर अघि रहेको छ । पछिल्लो समय लगानीकर्ता लो क्यापमा झुम्मिएका देखिन्छ । यता, हाइड्रोपावर क्षेत्रको विकासका लागि राज्य नै लागि परेको छ । नेपालले विद्युत बिक्री तेस्रा मुलुकसम्म पुग्दा यसमा भविष्य उज्जल देखिन्छ । जस कारण लगानीकर्ताको आकर्षक समेत हाइड्रोपावरका रहेको देखिन्छ ।

पुष मसान्तसम्ममा हाइड्रोपावर समूहको ३ खर्ब ६० अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा हाल ९१ हाइड्रो कम्पनी सूचीकृत रहेका छन् । उक्त रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४७५.७६ प्रतिशत बढी हो । गत आवको सोहि अवधिसम्म हाइड्रोपावर समूहको ६२ अर्ब ६७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यता, फाइनान्स समूहको १ खर्ब ३१ अर्ब ९५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा १२०५.३८ प्रतिशत बढी हो । गत आवको सोहि अवधिसम्म फाइनान्स समूहको १० अर्ब १० करो ८३ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

शेयर बजारमा ठुलो हिस्सा रहेको बैङ्क तथा वित्तीय संस्थाको शेयर कारोबार खुम्चिँदै गएको छ । कम्पनीको खराब कर्जा सङ्कलन गर्न समस्या पैदा हुँदा शेयर मूल्य ओरालो लागेको हो । एक वर्ष अघि हुने कारोबार भन्दा अहिले खस्किँदै जाँदा लगानीकर्ता बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने डराइ रहेको अवस्था रहेको छ । वाणिज्य बैंक समूहको १ खर्ब २४ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा उक्त शेयर करोबार रकम २५१.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिसम्म वाणिज्य बैंक समूहको ३५ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा विकास बैंक समूहको ८४ अर्ब ९४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ४७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंक समूहको १४ करोड ८७ लाख ९४ हजार रुपैयाँको शेयर खरिदबिक्री भइरहेको छ ।

पछिल्लो समय लघुवित्तको शेयर कारोबार समेत ओरालो लागि रहेको छ । कुनै समय लगानीकर्ताको पहिलो रोजाईको कम्पनी बनी रहेका लघुवित्त क्षेत्रको शेयर कारोबार निरन्तर ओरालो लागि रहेको छ । लघुवित्तको खराब कर्जा सङ्कलनमा भइरहेको कठिनाइ र कम्पनी खारेज विरुद्ध सडकमा चलेको आन्दोलनले माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण घटेको देखिन्छ । नियामक निकाय नेपाल राष्ट्र बैङ्कले लाभांश वितरणमा गरेको कडाइले समेत माइक्रोफाइनान्सको कारोबारमा प्रत्यक्ष असर गरी रहेको छ । यसअवधिमा लघुवित्त समूहको ७८ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यता, इन्भेष्टमेन्ट समूहको ७३ अर्ब ५८ करोड कारोबार भएको छ । पुष मसान्तसम्मको अवधिमा जीवन बीमा समूहको ६० अर्ब ३७ करोडको कारोबार भएको छ । केहि समयअघि लगानीकर्ताको उच्च आकर्षण रहेको यो क्षेत्र पछिल्लो समय लगानीकर्ताको नजरमा सुस्त देखिएको छ । तर, वित्तीय अवस्था र लाभांशको हिसाबमा जीवन बीमा समूह मजबूद रहेका छन् ।

साथै, अन्य समूहको ५० अर्ब ४४ करोड, निर्जीवन बीमा समूहको ४९ अर्ब ५ करोड, उत्पादन तथा प्रशोधन समूहको ४८ अर्ब २३ करोड, होटल तथा पर्यटन समूहको २४ अर्ब १३ करोड, व्यापार समूहको ४ अर्ब २१ करोड, म्युचुअल फण्ड समूहको ३ अर्ब ११ करोड र डिबेञ्चर समूहको १ अर्ब ७९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*