आइपीओ ल्याएको ओम मेगाश्री फर्मास्युटिकल्स वित्तीय स्थायित्वमा सुदृढ, कुन सूचक कति मजबूत ?

२२ माघ २०८१, मंगलवार १६:४०

काठमाडौँ । पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्कासन गरेको मेगाश्री फर्मास्यूटिकल्सले वर्ष दिनमा ८ करोड ७० लाख रुपैयाँ सञ्चालक आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२४ मा उक्त आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२४ मामा पीबीआईएलडीटी मार्जिन ४५.१३ प्रतिशत रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात १.६४ गुणा रहेको छ भने ब्याज कवरेज अनुपात २.९२ गुणा कायम भएको छ ।

कम्पनीको चालु अनुपात १.२९ गुणा रहेको छ भने कुल ऋण र ग्रस नगद आर्जन अनुपात १०.८७ गुणा रहेको छ । औषधि उत्पादन क्षेत्रमा कम्पनीको वित्तीय स्थायित्वलाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेको जनाइएको छ । नेपालमा औषधि उत्पादनका लागि संस्थागत र व्यक्तिगत प्रवद्र्धकहरूद्वारा प्रवद्र्धित यो कम्पनी २०१६ जुन १२ मा स्थापना भएको हो। कम्पनीको उत्पादन एकाइ चितवनमा अवस्थित छ।

केयर रेटिङ नेपाल लिमिटेडले ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडलाई प्रदान गरेको ‘डबल बी माइनस (इश्युअर)’ मूल्यांकन पुनःस्थापित गरेको छ । यो मूल्यांकन प्राप्त गर्ने कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिमयुक्त मानिन्छ ।

कम्पनीको दीर्घकालीन बैंक सुविधालाई ‘डबल बी माइनस’ र अल्पकालीन बैंक सुविधालाई ‘ए चार’ मूल्यांकन प्रदान गर्दै पुनःस्थापना गरेको छ । कम्पनीको कुल बैंक सुविधा ८२ करोड रुपैयाँ रहेको छ ।

यो इश्युअर मूल्यांकन कम्पनीले आर्थिक वर्ष २०८२ (मध्य असार अन्त्य) सम्ममा समग्र गियरिङ अनुपात (वित्तीय ऋण र स्वपुँजी अनुपात) तीन गुणाभन्दा नबढाउने सर्तमा कायम गरिएको हो । मूल्यांकनले ओम मेगाश्री फार्मास्युटिकल्सको वित्तीय स्थिति र समयमै दायित्व पूरा गर्ने क्षमतालाई मूल्यांकन गरेको जनाइएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् ।

कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको अनुभवी प्रवद्र्धक र व्यवस्थापन टोलीको अनुभव र नेपालमा औषधि उत्पादनको मध्यम अवधिमा स्थिर मागको सकारात्मक परिदृश्यले कम्पनीलाई बल प्रदान गरेको छ। साथै, गैर–पेनिसिलिन ब्लकसँग सम्बन्धित कम्पनीको प्रमुख उत्पादन एकाइको सफल सञ्चालन सुरु भइसकेको छ। आगामी वर्षहरूमा बिक्री विस्तार हुने अपेक्षा गरिएको छ ।

ओम मेगाश्री फार्मास्युटिकल्सले कुल अनुमानित लागत १०२६ मिलियन रुपैयाँ रहेको औषधि उत्पादन सुविधाको स्थापना गरिरहेको छ । यो परियोजना ६०ः४० को ऋण–इक्विटी संरचनामा वित्तपोषित हुनेछ (६१६ मिलियन रुपैयाँ ऋण र ४१० मिलियन रुपैयाँ इक्विटी)। पूर्ण वित्तीय व्यवस्थापन पूरा भइसकेको छ र प्रवद्र्धकहरूले आवश्यक इक्विटी लगानी गरिसकेका छन् ।

२०८१ वैशाख ८ गतेदेखि गैर–पेनिसिलिन ब्लक परियोजनाको सञ्चालन सुरु भइसकेको छ, जसले कार्डियाक, एन्टि–डायबेटिक र जेनेरिक सेगमेन्टमा ध्यान केन्द्रित गर्दछ । कम्पनीको आँखा ब्लक परियोजना निर्माणको चरणमा रहेको छ, जसमा हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यस्तै, पशु ब्लक परियोजनामा जमिन सम्याउने काम, बेसमेन्ट निर्माण, सिभिल कार्य र हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङ जस्ता उपकरणहरूको आंशिक खरिद सम्पन्न भइसकेको छ ।

नेपालमा औषधि उत्पादन तथा उपभोगमा क्रमिक वृद्धि भइरहेको छ । सामान्य जनताको स्वास्थ्य सेवामा पहुँच विस्तार, आयस्तरमा बृद्धि र विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतनामा आएको परिवर्तनले यो प्रवृत्तिलाई बल दिएको छ । नेपालमा हालसम्म लगभग आधा औषधिहरू विदेशबाट आयात भइरहेको छ, जसले घरेलु उत्पादन कम्पनीहरूलाई विस्तारको पर्याप्त अवसर प्रदान गरेको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै देशभर नयाँ स्वास्थ्य संस्थाहरूको स्थापना भएसँगै औषधि उत्पादनमा माग दीर्घकालसम्म निरन्तर रहने अपेक्षा गरिएको छ।

अर्थतन्त्रको अन्य क्षेत्रहरूको तुलनामा औषधि उद्योगको माग प्रायः आर्थिक मापदण्डहरूबाट प्रभावित हुँदैन। यस्तो अवस्थामा यदि घरेलु कम्पनीहरू, जस्तै ओम मेगाश्री फार्मास्युटिकल्स, आयातित उत्पादनहरूको तुलनामा मूल्य र गुणस्तरमा प्रतिस्पर्धी बन्न सफल भए, तिनीहरूले आगामी दिनमा राम्रो अवसर पाउने सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*