दयनीय रहेको सालपा विकास बैंकको नालीबेली, आइपीओको साहारामा संकट छल्ने रणनीति

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको चपेटाले आर्थिक क्षेत्रमा तनाव बढाएको छ । अझ खराब कर्जाको बोझले थला परेका क्षेत्रीय विकास बैंकहरू संकटबाट उकासिन संघर्षरत छन् । खराब कर्जा चुलिँदै गएपछि राष्ट्र बैंकले संस्थालाई मर्जरको बाटो देखाइरहेको छ ।
यही चुनौतीबीच सालपा विकास बैंकले आइपीओ मार्फत आर्थिक संकटलाई टार्ने रणनीति लिएको छ । खोटाङमा आधारित एक क्षेत्रीय विकास बैंक रुपमा २०६९ साल साउन १ गतेदेखि सञ्चालनमा आएको सालपाको ६ शाखाहरू र मुख्य कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । सोहि बैंकले आइपीओ मार्फत आम सर्वसाधारणको सहभागिता बढाउँदै वित्तीय दयनीयको भारलाई कम गर्ने लक्ष्य लिएको छ । आर्थिक संकटलाई चिर्ने प्रयाससँगै सालपा विकास बैंकले नयाँ रणनीति र सुधारात्मक उपायहरू अपनाउँदै आइपीओलाई जीवनरेखा बनाएको छ । खराब कर्जाको प्रभावलाई न्यूनीकरण गर्दै आइपीओबाट प्राप्त पूँजीलाई लगानीको दिशा दिन बैंकले दीर्घकालीन वित्तीय स्थायित्वको मार्ग कोर्ने योजना बनाएको देखिन्छ ।
सालपाले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । बैंक सञ्चालनमा आएको १२ वर्षपछि मात्रै सर्वसाधारणलाई शेयर जारी गर्ने योजना बनाइरहको हो । आइपीओका लागि तमतयार भएको कम्पनीको वित्तीय अवस्था भने निकै कमजोर रहेको छ ।
टाट पल्टिन लागेको बैंकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले जनवरी २०२५ मा ‘आईआरएन बी (आईएस)’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने जारीकर्ताहरूमा वित्तीय दायित्व समयमा पुरा गर्न उच्च जोखिम हुने मानिन्छ, जसले बैंकको वित्तीय अवस्थाप्रति शंका उब्जाएको छ ।
इन्फोमेरिक्स नेपालले दिएको ‘आईआरएन बी (आईएस)’ रेटिङको अर्थ बैंकले वित्तीय दायित्व समयमै पुरा गर्न सक्ने सम्भावना कमजोर रहेको छ । यस्तो रेटिङले बैंकको आर्थिक अवस्थाप्रति सावधानी अपनाउनुपर्ने संकेत गर्दछ । वित्तीय दायित्व पुरा गर्न असमर्थ हुने जोखिम बढिरहेको अवस्थामा बैंकले विश्वसनीयता कायम राख्न चुनौतीको सामना गर्नु पर्नेछ । बैंकको वित्तीय स्थायित्वप्रति चिन्ता बढ्दै जाँदा निक्षेपकर्ता र लगानीकर्ताहरूको विश्वासमा कमी आउने सम्भावना छ । रेटिङ एजेन्सीले दिएको ‘बी’ रेटिङले बैंकको जोखिमपूर्ण अवस्थालाई औंल्याएको छ, जसले बैंकको भविष्यप्रति अनिश्चितता थपिएको छ
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सम्पत्ति गुणस्तरमा तीव्र गिरावट आएको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको कुल गैर–निष्पादन ऋण (जीएनपीएल) अनुपात ९.४३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ३.८० प्रतिशत मात्र थियो । यस्तै, ९० दिनभन्दा बढी समयदेखि बक्यौता रहेको ऋणको परिमाण समेत तीन गुणा बढेर ८३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३० करोड रुपैयाँ थियो ।
गैर–निष्पादन ऋणमा वृद्धि भएसँगै बैंकको प्रावधान कभरेज अनुपात पनि लगभग आधाले घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यो अनुपात ९९ प्रतिशत रहेकोमा चालु वर्षको पहिलो त्रैमासमा झरेर ५९ प्रतिशत मात्र भएको छ । यसले गर्दा बैंकले १ करोड ९० लाख रुपैयाँको ठूलो मात्रामा ह्रासप्राप्ति शुल्कको व्यवस्था गर्नुपरेको छ, जसले गर्दा पहिलो त्रैमासमा बैंकको खुद नाफा ऋणात्मक १ करोड १० लाख रुपैयाँ रहेको छ ।
वर्षेनी सम्पत्ति चिप्लिएको देखिनुले बैंकको ऋणको गुणस्तरमा सुधार नभएको देखाउँछ, जसले गर्दा बैंकको रेटिङमा नकारात्मक असर परेको छ । बैंकको कासा अनुपात (चालु र बचत खाता) मा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कासा अनुपात ४५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ५३ प्रतिशत र त्यसअघिको वर्षमा ६३ प्रतिशत थियो । कासा अनुपात घटे पनि बैंकको निक्षेपको लागत घटेर ६.५ प्रतिशतमा सीमित भएको छ । तर, कासा अनुपातमा कमी आउँदा बैंकको तरलता स्थिति कमजोर बनेको छ ।
कुन सूचक कस्तो ?
सालापा विकास बैंकको ब्याज आम्दानीमा बृद्धि देखिएको छ । सन् २०२१ मा ८ करोड २० लाख रुपैयाँ ब्याज आम्दानी सन् २०२२ मा १० करोड ५० लाख, सन् २०२३ मा १२ करोड ७० लाख र सन् २०२४ मा १३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल आम्दानीमा पनि क्रमिक वृद्धि देखिएको छ । सन् २०२१ मा ८ करोड ९० लाख, २०२२ मा ११ करोड १० लाख, सन् २०२३ मा १३ करोड ३० लाख र सन् २०२४ मा १४ करोड ३० लाखरुपैयाँ आम्दानी भएको छ ।
ब्याज खर्चमा पनि उतारचढाव देखिन्छ । सन् २०२१ मा ३ करोड ७० लाख, सन् २०२२ मा ४ करोड ८० लाख, २०२३ मा ६ करोड ७० लाख र सन् २०२४ मा ६ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । शुद्ध ब्याज आम्दानीमा वृद्धि देखिएको छ । २०२१ मा ४ करोड ५० लाख, सन् २०२२ मा ५ करोड ७० लाख, सन् २०२३ मा ६ करोड र २०२४ मा ७ करोड २० लाख रुपैयाँ पुगेको छ ।
बैंकको करपछिको नाफामा अस्थिरता देखिन्छ । सन् २०२१ मा ४.६ मिलियन नाफा भएपनि सन् २०२३ मा –३.२ मिलियन घाटा भएको थियो । २०८१ मा ०.३ मिलियन नाफा भएपनि चालु त्रैमासमा –१०.९ मिलियन घाटा देखिएको छ । बैंकको निक्षेपमा लगातार वृद्धि भएको छ । सन् २०२१ मा ६८ करोड ३० लाख, २०२२ मा ७७करोड ६० लाख, सन् २०२३ मा ७८ करोड ७० लाख मिलियन र २०२४ मा ८८ करोड ६० लाख पुगेको छ । चालु त्रैमासमा १ अर्ब ११ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरिएको छ ।
बैंकले प्रदान गर्ने ऋण प्रवाहमा पनि वृद्धि भएको छ । सन् २०२१ मा ६० करोड ५० लाख, सन् २०२२ मा ६८ करोड, सन् २०२३ मा ८३ करोड र सन् २०२४ मा ९८ करोड २० लाख पुगेको छ । चालु त्रैमासमा १ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।
बैंकको कुल सम्पत्तिमा निरन्तर वृद्धि देखिएको छ । सन् २०२१ मा १ अर्ब ४० लाख, सन् २०२२ मा १ अर्ब ३५ करोड १० लाख, सन् २०२३ मा १ अर्ब ३६ करोड ६० लाख र २०२४ मा १ अर्ब ४४ करोड ३० लाख पुगेको छ । चालु त्रैमासमा १ अर्ब ५० करोड ७० लाख रुपैयाँ पुगेको छ । सालापा विकास बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकांकमा मिश्रित परिणाम देखाएको छ । ब्याज आम्दानी, निक्षेप, ऋण प्रवाह र कुल सम्पत्तिमा बृद्धि भएतापनि करपछिको नाफामा अस्थिरता रहेको छ ।
विभिन्न पृष्ठभूमिका व्यक्तिहरूले प्रवर्धन गरेको यस बैंकका प्रमुख शेयरधनीहरूमा धनप्रसाद राई (०.६१ प्रतिशत) र मनिन्द्र राई (०.५० प्रतिशत) रहेका छन् । मध्य–असोज २०८१ सम्ममा कम्पनीको चुक्ता पूँजी ३५ करोड रुपैयाँ रहेको छ । टंका राईको अध्यक्षतामा सञ्चालित यस बैंकको प्रमुख कार्यकारी अधिकृत नेतृत्वमा योगेन्द्र पुन रहेका छन् ।