आईएमई पे र खल्ती गाभिंदै, नयाँ नाम ‘आईएमई खल्ती’ हुने

काठमाडौँ । नेपालका दुई प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् । आइतबार यी दुई कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सम्झौतापछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन समेत पठाइएको छ ।
नेपालमा पहिलो पटक भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच मर्जर हुन लागेको हो । मर्जरपछि नयाँ कम्पनीको नाम ‘आईएमई खल्ती’ हुने सहमति भएको छ ।
मर्जरसँगै डिजिटल भुक्तानी क्षेत्रमा थप सुदृढीकरण हुने र प्रयोगकर्ताहरूलाई अझै सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । आईएमई पे र खल्तीले आ–आफ्ना सञ्जाल र प्रविधिलाई एकीकृत गरी नयाँ कम्पनीलाई मजबुत बनाउने योजना बनाएका छन् ।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि मर्जर प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ । यसले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा नयाँ सम्भावना र प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
हाल आईएमई पे को चुक्ता पूँजी ३० करोड र खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ ।