नाफा आर्जनमा आक्रामक प्रभु र नेपाल बैंकः नबिल र ग्लोबल अग्र स्थानमा, कसले कति कमाए ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्ममा ३६ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.६२ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको माघ समान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिसम्म आइपुग्दा १० बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ भने १० वटाको बढेको छ ।
राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ०.६२ प्रतिशतले बढाएर ४ अर्ब १ करोड ११ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले आफ्नो नाफा ४५.०१ प्रतिशतले बढाएर ३ अर्ब ८९ करोड, तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४.५२ प्रतिशतले बढाएर ३ अर्ब ४३ करोड, चौथो नम्बरमा रहेको एभरेष्ट बैंकले २९ प्रतिशतले बढाएर २ अर्ब ५७ करोड, पाँचौ नम्बरमा रहेको नेपाल बैंकले १५६.३१ प्रतिशतले बढाएर२ अर्ब ४५ करोड र एनएमबि बैंकले ४१ प्रतिशतले बढाएर २ अर्ब ३४ करोड पुराएका हुन् ।
त्यस्तै, माघ समान्तसम्मको अवधिमा प्राइम बैंकको नाफा १४.३१ प्रतिशतले घटेर २ अर्ब १८ करोड, स्टान्र्डड चार्टडको ५ प्रतिशतले घटेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
साथै, प्रभु बैंकको नाफा ९७ प्रतिशतले बढेर १ अर्ब ८३ करोड, लक्ष्मी सनराइजको १२ प्रतिशतले बढेर १ अर्ब ५८ करोड, नेपाल एसबिआई बैंकको२८ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंकको नाफा भने घटेको छ ।