१८औं बार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा १८ दिनसम्म घरबारविहीनलाई भोजन, ७ वटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवसेवा कार्यक्रमहरू सञ्चालन गरेको छ । बैशाख ७ गते १८औं वार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा बैंकले चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा सडकमा बसोबास गर्दै आएका करिब १ हजार ९ सय घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई दैनिक भोजनको व्यवस्था गरेको हो ।
बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँग सहकार्य गर्दै जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानहरूमा नदी किनार, सडकछेउ तथा पुलमुनी आश्रय लिएका व्यक्तिहरुलाई लक्षित गरी उक्त भोजन कार्यक्रम सञ्चालन गरेको हो ।
त्यस्तै, बैंकले वार्षिकोत्सवकै अवसरमा देशभर सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्यो । चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन गरिएका ती शिविरहरूबाट करिब १ हजार ७ सयभन्दा बढी बिरामीले प्रत्यक्ष लाभ लिएका छन् । शिविरहरू क्रमशः कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटल लाइन र जीतपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सञ्चालन गरिएको थियो ।
बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक रुपान्तरणमा योगदान दिने संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसैक्रममा, बैंकले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
हालै मात्र “बैंक अफ द इयर २०२४” अवार्ड जित्न सफल सिटिजन्स बैंकले नेपालमै पहिलोपटक फोनपेसँगको सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” अर्थात् भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन तथा सिआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा पनि बैंकले प्रारम्भ गरेको छ ।
हाल बैंकले ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६८ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूमार्फत १८ लाख ७९ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।