लयमा फर्किंदै फाइनान्सः ६ कम्पनीले वृद्धि गरे नाफा, अझै पाँच वटा ऋणात्मक (सूचीसहित)

काठमाडौँ । खराब कर्जाको चपेटामा बैंक तथा वित्तीय संस्था पर्दै आइरहेका छन् । अझ फाइनान्स कम्पनीहरूलाई खराब कर्जाले ठूलो मार नै पारिको छ । केही कम्पनीहरू व्यवसाय विस्तारतर्फ आक्रामक रूपमा अघि बढिरहे पनि बहुसंख्यक कम्पनीहरू सुस्त गतिमा सञ्चालनमा रहेका छन्, जसले गर्दा समग्र क्षेत्रमा सुधारको गति अपेक्षाकृत ढिलो देखिएको छ ।
यद्यपि, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरूको अवस्था विस्तारै लयमा फर्किँदै गएको संकेत देखिएको छ । चैत मसान्तसम्म सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीहरूले कुल १८ करोड ९६ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४३ प्रतिशतले वृद्धि हो । गत आवको चैत मसान्तसम्म यिनै कम्पनीहरूले २० करोड ४८ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।
तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार आईसीएफसी फाइनान्सको नाफामा आक्रामक रुपले वृद्धि भएको छ । कम्पनीको नाफा ४८९ प्रतिशतले बढेर १९ करोड ५० लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा आईसीएफसीले ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ कमाएको थियो ।
सर्वाधिक नाफा कमाउने दोस्रोमा फाइनान्समा मञ्जी श्री रहेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासको तुलनामा १३.३३ प्रतिशत बढी नाफा आर्जन गरेको छ । चालु आवको तेस्रो त्रैमासमा १७ करोड ११ लाख १९ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १५ करोड ९ लाख ८६ हजार रुपैयाँ थियो ।
त्यस्तै, प्रोगेशिभ फाइनान्सले ९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गर्दै सर्वाधिक कमाउने सूचीको तेस्रो नम्बरमा रहेको छ । जुन नाफा गत आर्थिक वर्षको तुलनामा ६४.७४ प्रतिशतले बढी हो ।
चैत मसान्तसम्मको अवधिमा पोखरा फाइनान्सले ७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, कम्पनी गरेको नाफा गत आर्थिक वर्षको तुलनामा ५८.२४ प्रतिशतले कम हो ।
साथै, श्री इन्भेष्टमेन्ट फाइनान्सले आफ्नो नाफा ५७.३१ प्रतिशतले बढाएर ४ करोड ९१ लाख, गुहेश्वरी मर्चेन्टले ४१.०३ प्रतिशतले घटाएर ३ करोड २४ लाख र मल्टीप्रपोज फाइनान्सले ३५.८७ प्रतिशतले बढाएर २ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।
गत वर्ष तेस्रो त्रैमाससम्ममा नाफा ऋणात्मक रहेको सेन्ट्रल र गुडवल फाइनान्स यस वर्ष सोहि अवधिमा सकारात्मक बनेका छन् । सेन्ट्रलले १ करोड ६९ लाख र गुडवलले १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको सार्वजनिक वित्तीय रिपोर्टमा उल्लेख गरेको छ ।
शेयर बजारमा सर्वाधिक चर्चामा रहेको नेपाल फाइनान्सले समेत नाफा २८.९८ प्रतिशतले वृद्धि गरेको छ । ९ महिनाको अवधिमा कम्पनीले १७ लाख रुपैयाँ नाफा कमाएको हो ।
पाँच कम्पनी ऋणत्मक, दर्दनाक अवस्थामा रिलायन्स
चालु आवको चैत मसान्तसम्मको अवधिमा पाँच कम्पनीको नाफा अझै ऋणत्मक अवस्थामा रहेको छ । यसअवधिमा सर्वाधिक ऋणात्मक रहेको कम्पनीमा रिलायन्स फाइनान्स रहेको छ । कम्पनीको नाफा १७ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष कम्पनीको नाफा ४ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
यता, जानकीको नाफा समेत उच्च रुपमा ऋणात्मक रहेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा १० करोड ८६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनी चालु आवको सोहि अवधिसम्म आइपुग्दा थप बढेर १२ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
साथै, बेष्ट फाइनान्स ७ करोड ५१ लाख, गोर्खाज फाइनान्स ६ करोड २१ लाख र समृद्धि फाइनान्स ३ करोड ५७ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।