गभर्नर नियुक्तीबारे प्रधानमन्त्री ओली र देउवाबीच मध्यराति दुई घण्टा गोप्य वार्ता

२२ बैशाख २०८२, सोमबार २०:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको बिषयमा हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो झण्डै दुई घण्टा छलफल भएको छ ।

हिजो साँझ नै सभापति शेरबहादुर देउवाको भेटवार्ता पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग पनि भेटवार्ता भएको थियो । यस बिषयले राजनीतिक घटनाक्रममा केही नयाँ कोर्स आउने आंशका पनि कतिपयले गरेका छन् ।

माओवादीका अध्यक्ष प्रचण्डले समेत दुई तिहाईको सरकार हुँदा पनि गभर्नर नियुक्ति प्रकृयामा के कारणले रोकेको हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए । प्रधानमन्त्री ओलीले प्रकृयागत रुपमा अघि बढीरहेको जवाफ दिएका थिए ।

त्यस्तै, दिउँसो झण्डै डेढ घण्टा बसेको सभापति देउवाले वैशाख २ गते नै नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउन उपयुक्त हुने कुरा प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । तर गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि किन अघि बढेन भन्दै प्रश्न गरिरहेका छन् ।

सभापति देउवाले गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि नबढ्दा सरकार माथि प्रश्न उठेको बिषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिको बैठक हिजो साँझका लागि तोकिएको भएपनि स्थगित गरिएको थियो ।

राजनीतिक तहमा लगभग कुरा मिलिसकेको अवस्था भए पनि गभर्नर नियुक्ति प्रक्रिया नै अघि नबढेको परिस्थितिमा सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग कुराकानी गरेको स्रोतको दावी छ ।

‘प्रधानमन्त्री र सभापतिले आइतबार बेलुकी गभर्नर नियुक्तिकै विषयमा केन्द्रित रहेर कुराकानी गरेकोे,’ प्रधानमन्त्री र सभापतिबीच भेटवार्ताबारे जानकार कांग्रेसका एक नेताले भने ‘लामो समयसम्म गभर्नर खाली राख्न हुन्न, डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्दा राम्रो हुन्छ भन्ने कुरा सभापतिले प्रधानमन्त्रीसमक्ष राखेका छन् ।’

हिजो बेलुका उहाँहरूबीच छलफल भयो। प्रधानमन्त्रीले म बुधबारसम्म राजीनामा स्वीकृत गराउँछु, अनि बिहीबार भट्टजीलाई गभर्नर नियुक्त गरौँला भन्ने जवाफ दिएको स्रोतको दावी छ ।

ओलीको प्रतिबद्धता आएपछि देउवा बूढानीलकण्ठस्थित आफ्नो निवास फर्किएका थिए । कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन उनले दिएको राजीनामा कायममुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गर्नुपर्ने हुन्छ । ढुंगाना आफै पनि गभर्नरको दौडमा छिन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नै ढुंगानालाई नेपालकै पहिलो महिला गभर्नर बनाउन खोजेको विषय चर्चामा छ । त्यसैले ढुंगानाले राजिनामा स्वीकृत नगरेको विश्वास गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*