रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गर्ने बाटो खुल्यो, पाटन उच्च अदालतको अन्तरिम आदेश

२५ बैशाख २०८२, बिहीबार १६:१४

काठमाडौं । पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासनका लागि अघि बढाएको प्रक्रिया रोक्न नपर्ने आदेश दिएको छ। अदालतको यस आदेशपछि कम्पनीले गत वर्षदेखि रोकिएको आईपीओ प्रक्रिया पुनः अघि बढाउने बाटो खुलेको छ।

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले २०८० असार २६ गते रिलायन्सको आईपीओ प्रक्रिया रोक्न निर्देशन दिएका थिए। सो निर्देशन अनुसार बोर्डले बिक्री प्रबन्धकलाई पत्र पठाएर थप निर्णय नभएसम्मका लागि प्रक्रिया स्थगित गर्न भनेको थियो।

तर, उक्त निर्णयविरुद्ध रिलायन्स स्पिनिङ मिल्सले बैशाख ११ गते पाटन उच्च अदालतमा रिट दायर गर्दै आफ्नो निष्कासन प्रक्रिया अघि बढाउन अनुमति दिन अनुरोध गरेको थियो। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश द्वय मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले बोर्डको रोक सम्बन्धी पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

कम्पनीको दाबीअनुसार, धितोपत्र ऐनअन्तर्गत स्वीकृत प्रकृया पूरा भएको अवस्थामा निष्कासन प्रक्रियामा एकपक्षीय रोक लगाउनु स्वाभाविक न्यायविरुद्ध हुने भन्दै अदालत समक्ष प्रस्तुत भएको थियो। अदालतको पछिल्लो आदेशपछि अब रिलायन्स स्पिनिङ मिल्सले प्राथमिक सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन पाउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*