अनलाइन परिक्षा सन्चालनमा अन्योलता: तत्काल समाधान खोजिनुपर्छ

युवराज शर्मा
१४ जेष्ठ २०८२, बुधबार १०:०१

नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता लाइसेन्स परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसअघि केहीपटक परीक्षा हुने भनिए पनि प्राधिकरणले बारम्बार “आईटी प्रणाली स्तरोन्नति भइरहेको” भनेर मिति सार्दै आएको छ। तर अब यो ढिलासुस्ती गम्भीर समस्याको रुपमा देखिन थालेको छ।

हाल देशभरबाट झण्डै २० हजारभन्दा बढी इच्छुक अभिकर्ता उम्मेदवारहरू परीक्षा हुने आशामा कुर्दै बसेका छन्। उनीहरूले समय, श्रम र स्रोत खर्च गरेर परीक्षा तयारी गरिरहेका छन्। तर लगातारको अन्योलले उनीहरू हतोत्साहित भइरहेका छन् र धेरैको बीमा क्षेत्रमा आउन सक्ने निर्णय नै परिवर्तन हुने खतरा बढेको छ।

अर्कोतर्फ, जीवन बीमा कम्पनीहरू हाल आर्थिक वर्षको अन्तिम त्रैमासिकमा (last quarter) अत्यन्तै व्यस्त व्यापारिक चरणमा छन्। यो समय बीमा व्यवसायमा लक्ष्य पूर्तिको दृष्टिकोणले अति संवेदनशील हुन्छ। नयाँ अभिकर्ताहरू उपलब्ध नभएर कम्पनीहरूले दैनिक कारोबारमै प्रभाव पार्ने गरी जनशक्ति अभाव भोगिरहेका छन्।

समस्या समाधानका व्यवहारिक सुझावहरू

१. तत्काल मिति तय गरियोस्
परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिनुपर्छ। आवश्यक भए अस्थायी समयरेखा नै भए पनि उम्मेदवारलाई जानकारी दिनुपर्छ।

२. हाइब्रिड मोडमा परीक्षा सञ्चालन गरियोस्
अनलाइन प्रणाली पूर्ण रूपमा तयार नभएसम्म प्राधिकरणले अफलाइन वा मिश्रित (Hybrid) मोडमा परीक्षा सञ्चालन गर्न मिल्ने व्यवस्था मिलाओस्। स्थानीय तह, प्रदेश कार्यालय वा बीमा कम्पनीहरूसँग समन्वय गरेर परीक्षा लिन सकिन्छ।

३. तेस्रो पक्षको प्रविधि सेवा प्रयोग गरियोस्
परीक्षा सञ्चालनमा सघाउन निजी प्रविधि प्रदायकहरूसँग साझेदारी गर्न सकिन्छ। उच्चस्तरीय परीक्षा प्रणाली सञ्चालन गर्ने अनुभव भएका कम्पनीहरूसँग सहकार्य गर्नाले समस्या छोटो समयमा समाधान हुन्छ।

४. ब्याचअनुसार परीक्षा सञ्चालन गरियोस्
एकैपटक सबै उम्मेदवारलाई परीक्षा दिन गाह्रो भए चरणबद्ध रूपमा, तालिका बनाएर परीक्षा लिने व्यवस्था गरियोस्।

५. प्रोभिजनल (अस्थायी) लाइसेन्स स्किम ल्याओस्
जसले परीक्षा फाराम भरेर तयारी गरिसकेका छन्, तिनीहरूलाई अस्थायी अनुमति पत्र दिई काम गर्न दिन सकिन्छ। शर्त रहोस्—परीक्षा पुनः सुरु भएपछि पास गर्नैपर्ने।

६. प्राधिकरणले एक ‘आपतकालीन कार्यदल’ (crisis taskforce) गठन गरोस्
बीमा कम्पनीहरू, अभिकर्ता तालिम प्रदायक संस्था, तथा प्रविधि विज्ञको सहभागिता रहने गरी कार्यदल बनाइयोस्। यसले समस्या पहिचानदेखि समाधानसम्म छिटो निर्णय लिन सहयोग गर्छ।

निष्कर्ष

आईटी प्रणाली सुधार एक स्वागतयोग्य कार्य हो। तर, सुधारको नाममा निरन्तर ढिलासुस्ती र अस्पष्टता बोक्ने नीति भने बीमा उद्योग इच्छुक मानव संसाधन दुवैका लागि विनाशकारी साबित हुनसक्छ

बीमा प्राधिकरणले आफ्नो नियामक भूमिकाको जिम्मेवारी बुझेको देखाउन अब तत्काल निर्णय कार्यान्वयनमा उत्रनु आवश्यक । २० हजार युवाहरूको भविष्य, बीमा कम्पनीहरूको व्यापारिक सफलता, र समग्र बीमा क्षेत्रको गति, सबै अब प्राधिकरणको निर्णयमा निर्भर छ।

युवराज शर्मा -रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा रि-इन्फोर्समेन्ट, ट्रेनिङ्ग तथा आर एण्ड डी विभाग प्रमुखका रुपमा कार्यरत छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*