शेयर बजारबारे अर्थमन्त्री, बजेटमा के के कुरा समेटियो ?

१५ जेष्ठ २०८२, बिहीबार १७:१८

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि विभिन्न महत्वपूर्ण योजना र कदमहरू सार्वजनिक गरेका छन्।

अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिने बताए। यसले पुँजी बजारलाई थप मजबुत र पारदर्शी बनाउन मद्दत पुग्नेछ।

त्यस्तै, धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरी नागरिक लगानीकर्ताको हित संरक्षणमा विशेष जोड दिइनेछ। लगानीकर्ताको विश्वास र सहभागिता बढाउने उद्देश्यले यस्तो कदम चालिनेछ।

धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू र अन्य संस्थागत लगानीकर्ताहरूलाई राष्ट्रिय प्राथमिकताका उद्योगमा जारी हुने पुँजी ऋणपत्र तथा अन्य धितोपत्रमा लगानी गर्न सहज बनाइनेछ। यसले प्राथमिकताका उद्योगमा लगानी प्रवाह बढाउने अपेक्षा गरिएको छ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गरिनेछ, जसले लगानीका नयाँ आयाम खोल्नेछ।

सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार शुरु गरिने व्यवस्था समेत गरिनेछ। यसले लगानीकर्तालाई थप विकल्प प्रदान गर्नेछ।

अर्कोतर्फ, गैर आवासीय नेपालीलाई पनि दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने व्यवस्था मिलाइनेछ, जसले विदेशबाट आउने लगानीलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

अर्थमन्त्री पौडेलले यी सबै कदमले नेपालको पुँजी बजारलाई व्यवस्थित, सशक्त र लगानीमैत्री बनाउन ठूलो योगदान पुर्याउने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*