धितोपत्र बजार पूँजीकरण बढ्योः बैंक, वित्तीय संस्था र बीमा कम्पनीको मात्रै ५२ प्रतिशत हिस्सा

२७ जेष्ठ २०८२, मंगलवार १२:३३

काठमाडौं । चालू आर्थिक वर्षको दश महीनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार पूँजीकरण वृद्धि भएको छ। २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण  ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।

बजारमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ। जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।

नेप्सेमा २०८२ वैशाख मसान्तमा सूचीकृत ८ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य रु.८ खर्ब ६१ अर्ब ३९ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेप्से सूचक १९९८.८९ को विन्दुबाट बढेर २६२०.२७ अंकमा पुगेको छ। यसले बजारमा सुधारको संकेत दिएपनि लगानीकर्ताको विश्वास भने अझै मजबूत छैन।

चालू आवको दश महिनामा २१ अर्ब ८ करोड बराबरको बोनस शेयर, २० अर्ब ३८ करोड बराबरको साधारण शेयर, ११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी कुल रु.३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*