प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण स्वीकृत नपाउने व्यवस्था खारेज गर्दै बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण स्वीकृत नपाउने व्यवस्था खारेज गर्ने भएको छ।
संघीय संसदको अर्थ समितिले प्रतिसेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण कम्पनीहरूको आइपीओ नरोक्न निर्देशन दिएसँगै धितोपत्र बोर्डले यस विषयमा छलफल गर्ने भएको छ।
धितोपत्र बोर्डका अध्यष सन्तोष नारायण श्रेष्ठले यसै साता बोर्डमार्फत यो प्रकृया अघि बढाईने बताएका छन् ।
धितोपत्र दर्ता तथा निष्कासन ऐनले सेयर जारी गर्ने कम्पनीको पछिल्लो समयको नेटवर्थ सकारात्मक हुनुपर्ने व्यवस्था गरेको भए पनि कति हुनुपर्ने भनेर तोकेको छैन । तर, लेखा समितिले २०८१ जेठमा प्रतिसेयर ९० रूपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपिओ निष्कासनको अनुमति नदिन निर्देशन दिएको थियो।
पछि अर्थ समितिमा पनि यस विषयमा छलफल भएको थियो।यही विवादको कारण लामो समयदेखि कम्पनीहरूको सेयर निष्कासन प्रक्रियाले गति लिनसकेको थिएन।
पछिल्लो समय भने नेटवर्थ ९० भन्दा माथि रहेका केही कम्पनीहरूले सेयर निष्कासन अनुमति पाइरहेका छन् ।
तर, नेटवर्थ नपुगेका कम्पनीहरूलाई धितोपत्र बोर्डले सेयर निष्कासन प्रक्रियाको सूचीबाटै हटाएको थियो। यो क्रममा धितोपत्र बोर्डले प्रक्रियामा रहेका १४ कम्पनीलाई यस्तो सूचीबाटै हटाएको थियो।
सूचीबाट हटाइएका कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबल कार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल, पुवा खोला वान हाइड्रोपावर, एकोर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन, प्रभु हेटिकप्टर र सानिमा हाइड्रोपावर छन्।
बोर्डको स्वीकृती पश्चात् कम्पनीहरू सेयर निष्कासनको प्रक्रियामा पुन स्वीकृत गर्न पाउनेछन् ।