विमानस्थलभित्रै ठगी धन्दा: ५ होटलबाट साढे १४ लाख रुपैयाँ जरिवाना

११ बैशाख २०८३, शुक्रबार १४:२१

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित विभिन्न व्यावसायिक फर्महरूमाथि कारबाही गरेको छ । बिहीबार राति गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत गतिविधि गरेको पाइएपछि पाँच वटा प्रतिष्ठानलाई नगद जरिवाना गरिएको छ भने एक होटललाई आवश्यक कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागका अनुसार सान इन्टरनेशनल प्राइभेट लिमिटेड, ओरिण्टल होटल्स लिमिटेड, टी थ्री थकाली ग्रुप प्राइभेट लिमिटेड र साई किरण इन्टरप्राइजेजलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो । यस्तै होटल सोनिंग प्राइभेट लिमिटेडलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी सोल्टी होटललाई भने व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात लिएर २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा ती व्यावसायिक प्रतिष्ठानहरूले उपभोक्तासँग ठगी गर्ने उद्देश्यले विभिन्न अनियमित गतिविधि गरेको पाइएको विभागको भनाइ छ । सामानमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगर्ने, पुरानो मूल्य ढाकेर नयाँ स्टिकर टाँसी महँगोमा बिक्री गर्ने तथा एउटै वस्तुमा दोहोरो मूल्यका स्टिकर प्रयोग गर्ने जस्ता अनियमितता फेला परेका छन् ।

त्यस्तै कतिपय प्रतिष्ठानले तोकिएको एमआरपीभन्दा बढी मूल्य असुल गरेको, साथै म्याद सकिएका तथा मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने खाद्य सामग्री र रंगजन्य पदार्थ बिक्रीका लागि राखेको अवस्थामा समेत भेटिएको विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*